2026-09-13 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

आफ्नै मृत्यु दर्ता बोकेर इन्साफ माग्दै छन् महोत्तरीका यादव

गोपालप्रसाद बराल | साउन २७, बर्दिवास | ‘‘हजुर ! हम बर्बाद भगेलौँ, जिन्दे मे मरल ।” (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको) महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी बैरियाका ५९ वर्षीय रामसेवकराय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना गर्नुहुन्छ । 

आफ्नो हातमा आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र बोकेर इन्साफका लागि विभिन्न कार्यालय धाउने यादव आफन्त, छिमेकी, कार्यालयका कर्मचारी, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिलाई मात्र नभएर अपरिचित मानिस देख्नासाथ आफ्नो बिलौना सुनाउन बिराउनुहुन्न । 

‘‘हजुर, कत्त नई गेली ? सिडियो साब, नेता, प्रधान (आफ्नो स्थानीय तहका प्रतिनिधि) आ प्रहरी सब्के कहिक थाइक गेली’ (हजुर, कहाँ गइन ? सिडियो साब, नेता, नगर प्रमुख र प्रहरी सबैलाई भनेर थाकिसकेँ) यादवले आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र देखाउँदै सञ्चारकर्मीसँग भन्नुभयो, ‘‘मुदा, हम जिन्दा आद्मीके मरल प्रमाणपत्र कोई नई सकाइर देलक’’ (तर म जिउँदो मान्छेको मरेको प्रमाणपत्र कसैले पनि सच्याइ दिएनन् ) । 

किशोरावस्थामै मातृवियोग भएपछि २०४८ सालमा घरमा पत्नीलाई छाडेर कमाउन भारतको पञ्जाव जानुभएका उहाँ लामो समयसम्म नफर्केपछि पत्नीले अन्तै घरजम गरिन् । 

यादवकी आमा मरिसकेकी र पत्नी अन्तै हिँडेपछि उहाँ पञ्जावतिरै रहेका बेला सौतेनी आमा शकुन्तीदेवी र सौतेलो भाइ रामपुकारको दवावमा बाबु रामवृक्षले २०६८ साल जेठ १ गते आफैँ सूचक भएर रामसेवकको मृत्युदर्ता गर्नाका साथै उनका नाउँको जग्गा नामसारी गरेर बेचेका थिए । रामसेवकको २०६७ साल कात्तिक १४ गते मृत्यु भएको भनी त्यतिबेलाका खोपी गाविसका पञ्जिकाधिकारी (गाविस सचिव) गोपाल पाठकको हस्ताक्षर रहेको मृत्यु दर्ता प्रमाणपत्रमा उल्लेख छ । 

आमा कौशिल्यादेवी जीवित छँदै उहाँले आफ्नो नाउँमा रहेको बर्दिवास–जलेश्वर सडक छेउको १० कट्ठा र आफ्नै बस्तीको पाँच कट्ठा घडेरी रामसेवकको नाउँमा दर्ता गरिदिनुभएको थियो । करोडौँ मूल्यको सोही जग्गाको लोभमा परेर सौतेनी आमा शकुन्ती र भाइ रामपुकारले दवाव दिएर बाबुलाई मृत्युदर्ता गर्न लगाएको अहिले थाहा भएको छिमेकी रामप्रसाद रायले बताउनुभयो । एक वर्षअघि घर आएको आपूmलाई सौतेनी आमा र भाइले नचिन्ने बताएपछि रामसेवक अहिले बिलखबन्दमा पर्नुभएको छ । 

‘‘बाबु देहान्त भगेल, माय आ भाइ नई चिनल बतौलक (बाबु मरिहाले, सौतेनी आमा र भाइले नचिन्ने बताए)। ’’ आँखाको आँशु पुछ्दै रामसेवकले भन्नुभयो,, ‘‘कि करु ? घर अछैत अखैन मन्दिर में रहिक गामघर टहलैत खाए परैय’’ ( के गरौँ ? घर हुँदै बेघर भएर मन्दिरमा आश्रय लिएको छु, गाउँ चहारेर खाँदैछु ।)” 

उहाँले आफ्नो मृत्युदर्ता बदर गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभए पनि कार्यालयले व्यक्तिगत घटना दर्ता सङ्घीय मामिला मन्त्रालयको पञ्जीकरण विभागसँग जोडिएकाले जिल्लामा स्थानीय विकास अधिकारीसँगको समन्वयबाट समस्या निराकरण हुने जनाएको छ ।

 ‘‘प्रपञ्च रचेर जिउँदो मान्छे मरेको घटना दर्ता गर्ने गराउने कार्वाहीमा पर्छन्’’, प्रजिअ उमेशकुमार ढकालले सञ्चारकर्मीको जिज्ञासामा भन्नुभयो, ‘‘यहाँ (जिल्ला)का स्थानीय विकास अधिकारी कामविशेषले बाहिर हुनुहुन्छ, उहाँ फर्केपछि यथार्थ बुझेर सच्याइनेछ ।’’ 

जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने गराउनेविरुद्ध जिल्ला अदालतमा मृत्यु दर्ता खारेजीसँगै जालसाँजी मुद्दा दायर गर्न र अंश कायमको मुद्दा चलाउन सकिने यहाँका कानून व्यवसायीले बताए । 

पहिलो चरणमा जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने निकायलाई नै बदर गर्ने अधिकार रहेको अधिवक्ता उद्धव क्षत्रीले जानकारी दिनुभयो । यसअघि उक्त नगरपालिका–६ वडा कार्यालयले रामसेवकको मृत्यु दर्ता खारेजीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन इन्कार गरेको पीडित रामसेवकको भनाइलाई उद्धृत गर्दै अधिवक्ता क्षत्रीले स्पष्ट पार्नुभयो । 

जिप्रका र कानून व्यवसायीले कानूनी उपचारको बाटो बताए पनि पैसा नभई कुनै काम अघि नबढ्ने गुनासो गर्दै पीडितले भन्नुभयो, ‘‘मन्दिरमा बसेको छु, खाने पिउने ठेगान छैन । एक वर्षदेखि कैयौँ ठाउँ धाइसक्दा पनि इन्साफ नपाउँदा मन मर्दै गएको छ । ’’ नगरपालिका प्रमुख सुनिलकुमार यादवले आफूमा यस्तो गुनासो लिखित वा मौखिक कसैले नगरेकाले सोबारे केही थाहा नभएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन