Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 28, 2019 बाँके - BNK, समाज

दाह संस्कार भएको दिन विद्यालयमा पढ्न आउन विद्यार्थी डराउँछन्

By साझासवाल 11 मिनेट पढाइ

काशीराम शर्मा | पुष १२, बाँके | चारैतिर खेत छ, खेतको बीचमा सडक छ, सडक छेउमै महाराजा माध्यमिक विद्यालय । नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको शव गाँडिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको मसानघाटमा मुस्लिम समुदायको मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि विद्यालय प्राङ्गण भएरै उक्त घाटमा लैजाने गरिएको छ । दाह संस्कार भएको दिन विद्यालयमा पढ्न आउन विद्यार्थी डराउँछन् ।

विसं २०१० मा स्थापना भएको विद्यालयको छेउमै मसानघाट हुँदा विद्यालयको पठनपाठनसमेत प्रभावित हुँदै आएको छ । विद्यालय छेउमै विसं २०७३ मा स्थापना भएको मसानघाटका कारण अध्ययन, अध्यापन गर्ने÷गराउनेमा समेत मानसिक र शारीरिकरूपमा असर पर्ने गरेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद दीक्षितले बताउनुभयो । हुनत् विकासको तीव्र गतिसँगै बाँकेका धेरै ठाउँमा रहेका कतिपय मसानघाट मासिँदै जान थालेको छन् ।

विद्यालय सञ्चालन भइरहेका बेला मुस्लिम समुदायका मानिसको मृत्युपछि शवलाई मसानघाट ल्याउँदा विद्यार्थीले झ्याल बन्द गर्नुको विकल्प नभएको प्रधानाध्यापक हरिप्रसाद दीक्षितले बताउनुभयो । मसानघाटमा हुने मृत्यु संस्कारको दृश्य नदेखियोस् भनेर विद्यार्थीले नै कक्षाकोठाका झ्याल लगाउने गर्दै आएका छन् । “विद्यालयमा ससाना बालबालिका अध्ययन गर्दै आएका छन् । उनीहरूको बाल मनोविज्ञानमा कस्तो असर पर्ला ?”, शिक्षकहरु बताउँछन् ।

त्यहाँ कार्यरत शिक्षक÷शिक्षिकाले विद्यालय छेउमा यसरी मसानघाट बनाउनु उपयुक्त नभएको बताउनुभयो । तर मुस्लिम समुदायका नागरिकले अन्यत्र जमिन नभएको भन्दै छेउमै मसानघाट बनाउँदा विद्यालयलाई समस्या भइरहेको बताएका छन् । प्रधानाध्यापक दीक्षितले भन्नुभयो, “शवको मुस्लिम संस्कारअनुसार अन्तिम संस्कार गरिरहेको दृश्य र त्यसबाट आउने दुर्गन्धले निकै असजिलो हुन्छ । त्यसमाथि अरू समस्या त छँदैछ ।”

नेपालगञ्ज उपमहानगरपालिकाभित्र रहेको सामुदायिक विद्यालयमध्ये यो पुरानो विद्यालय हो । उक्त मसानघाटमा पुरैना गाउँ, फुल्टेक्रा, नहरपूर्वा गाउँका मुस्लिम समुदायका मानिसको मृत्युपछि अन्तिम संस्कार गर्ने गरिएको प्रधानाध्यापक दीक्षितले बताउनुभयो । “मसानघाटमा जब शव ल्याएको देखिन्छ, त्यसपछि विद्यालयमा बस्नै नसकिने वातावरण हुन्छ”, उहाँले भन्नुभयो । विद्यालयलाई नै यहाँबाट सार्नुपर्यो भनेर जनप्रतिनिधि आएपछि विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर निवेदनसमेत दिएको प्रधानाध्यापक दीक्षितको भनाइ छ । तर अहिलेसम्म यसको कुनै सुनुवाइ हुन सकेको छैन । उहाँका अनुसार घाटमा लाश ल्याएर अन्तिम संस्कारका लागि काम थालेपछि विद्यार्थीको मानसिकता पढाइमा भन्दा बाहिरतिर बढी जाने गरेको छ ।

दाहसंस्कार भएको दिन मात्र नभई त्यसको तीन/चार दिनसम्म पनि विद्यालयको पठनपाठन प्रभावित हुने गरेको छ । शिक्षक र विद्यार्थीमा मनोवैज्ञानिक त्रास पैदा हुने गरेको स्थानीयवासीको भनाइ छ ।

उक्त समुदायका मानिसले विगतमा विद्यालयको गेट नजिकै अन्तिम संस्कार गर्ने गरेका थिए । तर केही वर्षयता गेट नजिकबाट हटाएर अलि पर विद्यालयको छेउमा मसानघाट नै बनाएर मृत्युपछिको अन्तिम संस्कार गर्ने गरेको प्रधानाध्यापक दीक्षितले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय क्षेत्रमा यसरी मसानघाट बनाउन नहुने भए पनि यस विषयमा मुस्लिम समुदाय र शिक्षा कार्यालयसमेत उदासिन रहँदै आएका छन् ।”

अहिले मसानघाट भएको जमिन विद्यालयकै हो । प्रधानाध्यापक दीक्षितले भन्नुभयो, “मुस्लिम समुदायले जति भने पनि नमानेपछि तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुम्मन राँढ र तत्कालीन प्रधानाध्यापक श्यामविहारी गुप्तासँगको आपसी सहमतिमा जमिन सट्टापट्टा गरिएको रहेछ ।” उहाँले बिहान होस् वा दिउँसो विद्यार्थी मात्रै नभई ठूलै मान्छे पनि एक्लै मसानघाटको बाटो हिँड्न सकस मान्दै आएका छन् ।

“एक बिघा १७ धुर जमिन रहेको उक्त विद्यालयमा जताततै चिहान मात्रै छन्”, विद्यालयका शिक्षिका मञ्जु थापाले भन्नुभयो, “पहिले त विद्यालय भएकै ठाउँमा पनि चिहान थिए । तर पछिल्लो समय उक्त समुदायले मसानघाटको पर्खालभित्र मात्रै चिहान बनाउने गरेका छन् ।” विद्यालय छेउमै मसानघाट भएकाले बिहान ट्युसन पढ्न आउँदा एकदमै डर लाग्ने गरेको विद्यार्थी पवित्रा सुनारको भनाइ छ ।

विद्यार्थी सुनारका अनुसार एक्लै आउन नसक्ने भएपछि हरेक दिन अभिभावक वा कुनै साथीसँग मात्रै बिहानको कक्षा लिन विद्यालय आउनुपर्ने बाध्यता छ । विद्यालयमा दिउँसो फुटबल खेल्दासमेत कहिलेकाहीँ बल पर्खालभित्र गएको अवस्थामा लिन जाँदासमेत दिउँसै डर लाग्ने गरेको अर्का विद्यार्थी माया चौधरीको भनाइ छ । विद्यार्थीले मसानघाट विद्यालय छेउबाट अन्यत्र सारिनुपर्ने मागसमेत गरेका छन् ।

मुस्लिम समुदायका अगुवा भने तत्कालै उक्त मसानघाट अन्यत्र सार्न नसकिने बताउँछन् । नेपालगञ्ज–२१ का वडाध्यक्ष रञ्जित खाँले वडा क्षेत्रमा सरकारी जमिनको अभावले मसानघाट अन्यत्र सार्न नसकिने बताउनुभयो । “वडाभित्र पर्याप्त जमिन छैन, त्यसैले अन्य जमिन दिन सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “तर, मसानघाटले विद्यालयमा पर्न गएको असर कम गर्न त्यसमा थप पर्खाल लगाई केही सुधार गर्न सकिएला ।”

संस्कृति, परम्परा र सभ्यतासँग जोडिएको हुन्छ, मसानघाट । विद्यालयमा त्यही संस्कृति र परम्परा जोगाउन देशका धरोहरलाई शिक्षा प्रदान गरिन्छ । त्यसैले दुवैको महत्व निकै छ । मुस्लिम समुदायका एक जना स्थानीयवासीले भन्नुभयो, “मसानघाट हाम्रो सभ्यता हो, यसलाई सार्न सकिँदैन तर विद्यालय त सकिन्छ नि ?” हाम्रो संस्कृति, परम्परा र सभ्यता भएकाले मसानघाटभन्दा पनि विद्यालय सार्नु उपयुक्त भएको मुस्लिम अगुवाको भनाइ छ । रासस