मङ्सिर १५, धनगढी | ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न भएको छ।

धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिकै आज बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

उक्त विद्यालयका विद्यार्थीले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका छन्। उनीहरूले धनगढी बजारका विभिन्न ठाउमा टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्।

जिल्ला प्रहरी कार्यालयको गेटमा टायर बालेर नाराबाजी गरेपछि प्रहरीले ६ राउन्ड अश्रुग्यास हानेको छ।

आज बिहान हसनपुर पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिँदा धनगढी उपमहानगरपालिका-५ तारानगरकी साउदको मृत्यु भएको थियो।

चालक चितवन भरतपुर महानगरपालिका २८ वर्षीय बिमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अहिलेसम्म शव उठाइएको छैन। प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद जोशीले पीडितको परिवारलाई शव संकलन गर्न र पीडकसँग वार्तामा बस्न आग्रह गरिको बताए।