२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ : अभिनेता सरोज खनाल

२०८२, ९ असार सोमबार १७:१७

काठमाडौँ | अभिनेता सरोज खनाल रङ्गमञ्च र चलचित्रका लागि परिचित नाम हुनहुन्छ । उहाँले तीस भन्दा बढी नाटक र सय भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ ।

नेपाली चलचित्रमा अभिनेता हुँदै पछिल्लो समय सहअभिनेताका रुपमा काम गरिरहनुभएका खनालले आठ वर्षको अन्तरालमा नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा काम गर्नुभएको छ ।

विसं २०७४ ‘बाह्र दुर्वासा’ नामक नाटकमा अभिनय गरेपछि उहाँ चलचित्रमा व्यस्त हुनुभयो । लगातार चलचित्रको फाँटमा क्रियाशीलन हुनुभएका अभिनेता खनाललाई आफ्नो अभिनयको अनुसाशन कायम नभएको आभाष भएपछि दुई महिना समय निकालेर रङ्गमञ्चमा प्रस्तुत हुनुभएको हो ।

यसअवधिमा उहाँले तीनदेखि चार चलचित्रमा काम गरिसक्नुहुन्थ्यो, तर नाटकले दिएको सन्तुष्टी सायदै प्राप्त गर्नुहुन्थ्यो होला । त्यही भएर उहाँ आफ्नो पात्रलाई नयाँ रुप दिन दुई महिनादेखि मेहनत गरिरहनुभएको छ ।

“अमेरिकाबाट स्वदेश फर्किएपछि नाटकघरबाट अभिनयको सुरुआत गरेको थिएँ । रङ्गमञ्चमा काम गर्दा आफूलाई बुझ्ने मौका पाउँछु, म आफूलाई सिक्न र बुझ्न यहाँ आउने गर्छु”, अभिनेता खनालले भन्नुभयो ।

त्यसो त उहाँले चलचित्रमा मेहनत नगरेका भने होइन, आफूले पाएको भूमिकालाई निर्वाह गर्न अभिनेता खनालले पहिले जस्तो थप मेहनत गर्नुपर्दैन । न त निर्देशकले नै फरक किसिमले प्रस्तुत गर्ने जाँगर देखाउने गरेका छन् । दर्शकले रुचाइरहेकै स्वरूपमा निर्देशकले उहाँलाई पर्दामा ल्याइरहनुभएको छ । सोही कारण पनि अभिनेता खनालले नाटक गर्ने समय आयो भन्ने महसुस गर्नुभयो ।

“अहिले मैले चलचित्रमा गर्ने काम भनेको सहायक अभिनेताको रुपमा हुने गरेको छ । त्यसका लागि निर्देशकले मलाई दिनुभएको भूमिकालाई निर्वाह गर्छु, फेरी दैनिक छायाङ्कन पनि हुँदैन । त्यसैले पात्रमै बाच्नु पर्ने आवश्यकता हुँदैन, फेरी त्यहाँ एकपटक गरेको दृश्य सही भएन भने त्यसलाई अभ्यास गरेर पुनः गर्न पाइन्छ । त्यसले गर्दा हामीलाई प्राविधिक सहुलियत पनि छ, तर नाटकमा अवस्था भिन्न छ । जे हुन्छ, प्रत्यक्ष र दर्शकको अगाडि हुन्छ । त्यसैले हामीले यहाँ मेहनत गरेनौँ भने त्यसको परिणाम तुरुन्तै दर्शकमा देख्न पाइन्छ”, उहाँले भन्नुभयो ।

नाटकमा एउटा अभिनेताले एउटा पात्रलाई दुईदेखि तीन महिनासम्म बाँच्नु पर्ने हुन्छ । सुरुको केही दिन अभ्यास र त्यसपछि मञ्चनका क्रममा अभिनेताले निर्वाह गर्ने पात्रलाई नै जीवन मानिसकेका हुन्छन् ।

एउटा पात्रलाई दैनिक प्रस्तुत गर्दा त्यहाँ आत्मा बस्न थालेको हुन्छ । अर्थात् उक्त पात्रको सुखदुःखसँग कलाकार विस्तारै जोडिने गर्छन् । अभिनेता खनालले अभिनय गरिरहनुभएको नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा द्वन्द्वकालमा यौनहिंसा भोग्न बाध्य भएकी एक सर्वसाधारण महिलाको कथा देखाइएको छ ।

उक्त महिलासँग घटेको घटनाले मनोविज्ञानमा पारेको प्रभावले जो कसैलाई पनि असर गर्न सक्ने अभिनेता खनालको बुझाइ छ । उहाँले द्वन्द्वकालमा आफू बाहिर भएकाले पनि यस्ता घटना र पात्रलाई प्रत्यक्ष रुपमा सुन्न नपाएको बताउनुभयो ।

“म लामो समय विदेशमा रहे । विशेषत द्वन्द्वकालका घटनालाई मैले परदेशबाट सञ्चारमाध्यममार्फत बुझ्ने मौका पाएँ । तर, त्यो समयमा जसको द्वन्द्वसँग कुनै सङ्लग्नता नै थिएन, ती पनि यस्ता समस्यामा छन् भन्दा वा सुन्दा दुःख लाग्छ । किनकि द्वन्द्वले दिएको बाहिरी घाउ वा चोट त हामीसबैले बुझेका र देखेका छौँ तर भित्री मानसपटलमा दिएको चोटलाई कसैले बुझ्न सकेको छैन । त्यही एउटा घाउलाई हामीले नाटकमार्फत प्रस्तुत गरेका छौँ”, अभिनेता खनालले भन्नुभयो ।

द्वन्द्वको क्रुरता र भयावहलाई प्रस्तुत गर्दै न्याय प्रणाली र राज्यसँग प्रश्न गर्ने उक्त नाटकले युद्धले दिएको घाउको गहिराइ नाप्दै हिंसामा परेका महिलाको न्यायका लागि वकालत गर्छ । ‘मञ्जिराः द म्यूटेड मेलोडी’ द्वन्द्वले दिएको घाउ लिएर बाँचिरहेकी मञ्जिरा (सरस्वती चौधरी) को कथा हो । काठमाडौँबाट शान्ति खोज्दै बर्दिया पुग्नुभएका अधिवक्ता गोपाल(सरोज खनाल) को परिवार कहाँ मञ्जिराको पति प्रेम (सशांक मैनाली) चालक हुनुहुन्छ ।

अधिवक्ता गोपालको पत्नी शान्ति(सरिता गिरी)लाई बर्दियाको गर्मी मन परेको छैन, उहाँ अशान्त हुनहुन्छ । अधिवक्ता पेसा छाडेर गृहिणी बन्नुभएकी शान्तिलाई तब शान्ति मिल्छ, जब गोपाललाई द्वन्द्व पीडितको न्यायसँग सम्बन्धित उच्चस्तरीय छानबिन आयोगको अध्यक्ष बनाउने खबर आइपुग्छ ।

घरमा आइपुग्नुभएका पाहुना कवीन्द्र (अनुप न्यौपाने)ले नै गोपाल आयोगको अध्यक्ष बन्दै गरेको कुरा शान्तिको अगाडि फुत्काइदिनुहुन्छ । यसले उहाँकी पत्नी शान्तिलाई काठमाडौँ फर्किने वातावरण निर्माणमा सघाउँछ । तर, ती पाहुना कवीन्द्रको अतीतले मञ्जिरा र युद्धको विगतका कुरालाई वर्तमानमा ल्याउँछ । त्यसपछि त्यही मञ्चमा सुरू हुन्छ, छानविन । ती दृश्यलाई अभिनेता खनालले गर्न थाल्नुभएको एक महिना पुग्नै लागिसक्यो त्यही पनि उहाँका आँखा रासाउँछन् ।

“म नाटकको अन्त्यतिरका दृश्यमा आफ्ना आँशुलाई रोक्न सक्दिन । किनकि मञ्जिरा जस्तै मनमा घाउ बढाएर बस्ने कति धेरै हुनहुन्छ होला ? जसलाई कसैले सम्बोधन गरेको छैन, जसको कुनै सम्बन्ध द्वन्द्वसँग थिएन । जसले अहिले पनि आफ्नो लडाइ लडी नै रहनुभएको छ”, अभिनेता खनालले भन्नुभयो ।

उहाँलाई द्वन्द्वसँग जोडिएका व्यक्ति वा यसका उपलब्धिमा रमाउने व्यक्तित्व नाटक हेर्न नआउँदा दुःख लागेको छ, तर नाटक हेर्न आइपुगेका सर्वसाधारणले दिइरहनुभएको प्रतिक्रियाले उहाँ खुसी हुनहुन्छ ।

“नाटक हेर्ने केही दर्शकले अब हाम्रो आवाज बुलन्द हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ, केहीले आफ्नै कथा पाएँ भन्दा मञ्जिरा पात्रलाई अङ्गाल्दै आफ्नो भावना व्यक्त गर्नुभएको छ । हामी कलाकारले आफ्नो कलाको माध्यमले उठाउन सक्ने आवाज सायद यही नै हो”, उहाँले भन्नुभयो ।

नाटकले दिएको सन्तुष्टीकै कारण अभिनेता खनाल अब वर्षमा कम्तीमा दुई नाटकमा अभिनय गर्ने योजनामा हुनहुन्छ । विगतमा चलचित्रकै लागि नाटक छाड्नु भएका अभिनेता खनाल आउँदा दिनमा नाटकका लागि चलचित्र छाड्ने हुनुभएको छ । किनकि उस्तै र उही भूमिका गरिरहनुभएका अभिनेता खनाललाई नाटकले अनुशासित बनाएको छ ।

“विगतमा चलचित्रकै कारण केही नाटकमा आफूलाई प्रस्तुत गर्न पाइनँ । अहिले चलचित्रभन्दा पनि नाटक मेरो प्राथमिकतामा परेको छ । चलचित्रमा निरन्तर काम गरिरहँदा आफ्नो अभिनय क्षमतालाई बढाउन र मापन गर्न रङ्गमञ्चको आवश्यकता महसुस गर्छु, किनकि यहाँ हामी कलाकारलाई चाहिने अनुसाशन छ । त्यसले हाम्रो कलाकारितालाई कायम राख्न मद्दत गर्छ”, उहाँले भन्नुभयो ।

अभिनयका नयाँ शैली र भावलाई बुझ्दै आफूभन्दा कनिष्ट कलाकारसँग उही उर्जाका साथ काम गर्ने अठोटले अभिनेता खनाललाई पुनः रङ्गमञ्चमा रहरीयाभन्दा पनि मेहनती कलाकारको रुपमा परिभाषित गर्दैछ । किनकि रङ्गमञ्चमा आउने र काम गर्ने इच्छा धेरै कलाकारको हुन्छ, प्रयास पनि गर्छन् तर यहाँ चाहिने समर्पण, लगनशीलता र निरन्तरता कमै कलाकारमा देख्न पाइन्छ ।

अभिनेता खनालले रङ्गमञ्च प्रति देखाउनुभएको सम्मानले उहाँको यो यात्रालाई धेरै अगाडिसम्म पु¥याउने अनुमान नाट्यकर्मीले गरेका छन् । किनकि पछिल्लो समय रङ्गमञ्चलाई चलचित्रसम्म पुग्ने भर्याङ बनाउने कलाकारको भिडमा अभिनेता खनालले आफ्नो कलाकारिता बचाउन रङ्गमञ्च आउनुभएको छ ।

“यो मैले आफ्नै कलाकारिताको हैसियत बुझ्न पनि अपनाउने गरेको सुत्र हो । रङ्गमञ्च आइसकेपछि वा यहाँ प्रस्तुत भएपछि कुनै पनि कलाकारलाई आफ्नो कलाकारिताबारे भ्रम भने हुँदैन, छर्लङ्ग भइन्छ । मैले यहाँबाट प्राप्त गरेको ऊर्जा र सिकाइ आगामी दिनका मेरो काममा पक्कै देखिने छ भन्ने विश्वास छ”, अभिनेता खनालले भन्नुभयो ।

सोमनाथ खनालले निर्देशन गर्नुभएको नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मण्डला नाटकघरमा यही असार ८ गतेसम्म नियमित मञ्चन भएको थियो । आउँदो केही ‘विकेन्ड’ मा ‘बुक्ड शो’ हुने नाटक घरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ