
काठमाडौँ | दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा श्रीमानले बञ्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने श्रीमती र अर्का छोरा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादका क्रममा श्रीमती र तीन सन्तानमाथि बञ्चरो प्रहार गरेका थिए ।
घटनामा गम्भीर घाइते भएका १२ वर्षीय तपेन्द्र सलामी र ३ वर्षीया करिश्मा सलामीलाई नगर अस्पताल दुल्लु पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर र ६ वर्षीय छोरा मिलनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
घटनापछि प्रहरीले अम्बरलाई नियन्त्रणमा लिएको छ भने घटनामा प्रयोग भएको बञ्चरोसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।