३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा

१५ बैशाख २०८२, सोमबार १२:४१

काठमाडौँ | निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन् ।

निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । पचास वर्षअघि निर्माण भएको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने)मा ५०.३४ प्रतिशत पुगेको छ । पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार कूल ४१ दशमवल ४५ किमी दूरीको उक्त खण्डमा तीन किमि मात्र कालोपत्र हुन बाँकी छ । “कालोपत्र अन्तिम चरणमा पुगेको छ, दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक छ लेनको बनेको छ, अन्यत्र चार लेनको छ”, उहाँले भन्नुभयो, “आगामी असारभित्रमा पूर्वी खण्डको काम सक्ने लक्ष्य छ ।”

पूर्वी खण्डमा पर्ने १७ साना–ठूला पक्की पुल गत वर्ष नै निर्माण भएको इञ्जिनियर पाण्डेले बताउनुभयो । तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको उहाँको भनाइ छ । कोभिड महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय तीव्र गतिमा सडक निर्माणको काम भएको इञ्जिनियर पाण्डेले बताउनुभयो । पूर्वी खण्डमा विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । उक्त खण्डको ठेक्का रकम रु छ अर्ब २१ करोड ३१ लाख रहेको छ ।

आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरले आगामी जेठ पहिलो साताभित्र उक्त खण्डमा एकतर्फी (दुई लेन)मा कालोपत्रको काम सकिने बताउनुभयो । कूल ३८ दशमलव ८८ किमि दूरीको उक्त खण्डमा हालसम्म ३५ दशमलव ५ किमि एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको उहाँको भनाइ छ । “करिब तीन किमि मात्र एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ किमि दूरीमा दुईतर्फी नै कालोपत्र भइसकेको छ”, आयोजना प्रमुख कुँवरले भन्नुभयो, “आउँदो असारभित्रमा ३० किमि दूरीमा दुईतर्फी नै कालोपत्र सक्ने लक्ष्य छ ।”

कास्कीको अमरसिंह, चाउथे, विजयपुर, तालचोकलगायत क्षेत्रमा एकतर्फी कालोपत्र हुन बाँकी छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि सेती पुलसम्म एकतर्फी कालोपत्र भइसकेको आयोजना प्रमुख कुँवरले जानकारी दिनुभयो । “बिजुलीका पोल सार्न भएको ढिलाइले सडक निर्माणमा पनि केही असर पु¥याइरहेको छ”, उहाँले भन्नुभयो, “अझै चार सय जति विद्युत् पोल हटाउनुपर्ने अवस्था छ ।” आगामी पुससम्म ठेक्काको म्याद रहेकाले उक्त अवधिमा कालोपत्र सक्ने गरी कामलाई गति दिइएको उहाँको भनाइ छ ।

कालोपत्र सकिएपछि फुटपाथ, सडक सुरक्षालगायतका काम सुरु हुने उहाँले बताउनुभयो । पश्चिम खण्डमा १८ दशमलव ५ किमि दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक बन्नेछ । “यस खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो”, आयोजना प्रमुख कुँवरले भन्नुभयो, “तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ ।” पश्चिम खण्डका १२ वटा पुलमध्ये १० वटा बनिसकेका छन् । कास्कीको विजयपुर र तनहुँको शेराटारमा पुल निर्माणको काम भइरहेको छ ।

पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत काम भइरहेको आयोजना प्रमुख कुँवरले बताउनुभयो । उक्त पुलको भौतिक प्रगति ४४ दशमलव ६६ पुगेको उहाँको भनाइ छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा आकर्षक पुल बन्न लागेको हो । तनहुँको जामुनेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको ठेक्का पाएको थियो ।

दुवै खण्डका अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भइसकेकाले पोखरा–मुग्लिन सडक यात्रा सहज बन्दै गएको छ । दुईतर्फी नै कालोपत्र सकिएपछि पोखरादेखि काठमाडौँ, नारायणगढलगायतका गन्तव्यको यात्रा अझ धेरै छोटिने छ । कूल ८१ किमि दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणलाई गति दिन पोखराका पर्यटन व्यवसायीलगायतले दबाब दिँदै आएका थिए ।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आउजाउ गर्दा धूलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य हुनेछ । पोखरा महानगरपालिका–१० का वडाध्यक्ष राजेश गुरुङले सडक विस्तारका क्रममा सालिकलगायतका संरचना हटाउँदा पोखराका चोक पनि खुला र आकर्षक देखिएको बताउनुभयो । अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्डविपरीतका संरचना हटाएर चोकहरुलाई चौडा बनाइएको हो । “फराकिलो सडकमा दुर्घटनाको जोखिम पनि बढी हुने भएकाले सडक सुरक्षाबारे सर्वसाधारणलाई सचेतना जगाउनु जरुरी छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली