विजय रावत | पुस १४, खलङ्गा | जुम्लामा अझै पनि लैङ्गिक हिंसा तथा लिङ्गका आधारमा गरिने विभेदको चपेटामा महिला र बालबालिका पर्दै आएका छन् । देशको शासन व्यवस्था र समयमा परिवर्तन आए पनि जुम्लामा अझैसम्म लिङ्गका आधारमा छोरा-छोरीबीच गरिने विभेदका कारण किशोरीहरू उक्त समस्याबाट मुक्त हुनसकेका हुन् ।
पठनपाठन, खानपान, लुवाइखुवाइ र बोलीचालीमा पनि संस्कारका नाममा सानै उमेरदेखि जानीनजानी घरदेखि नै छोरीको आत्मबल घटाउने काम गरिन्छ । छोरीलाई संस्कारी नारी तथा छोरालाई असल नागरिक बनाउने नाममा घरदेखि नै बालिकाले विभेदकारी शिक्षा पाइरहेका छन् ।
यस्तै संस्कारका कारण पछि गएर किशोरभन्दा किशोरी बढी कमजोर मनस्थितिका हुने गरेका कारण विद्यालय वा समाजमा ठूला मान्छेका अगाडि बोल्न वा सहजै मनको कुरा व्यक्त गर्न पनि उनीहरु सक्दैनन् । समाजको लहलहै तथा पारिवारिक दबाबका कारण जुम्लामा कतिपयले त किशोरी अवस्थामै आमा बनेर आफ्नो भविष्य नै अन्धकारमा पु¥याएका घटना बढेकाले पछिल्लो समय जिल्लाका गाउँदेखि शहरसम्म लैङ्गिक हिंसा तथा छोराछोरीबीच हुने विभेदविरुद्ध महिला वा किशोरीले खुलेरै बहस गर्नाकासाथै उक्त विषयमा सामूहिक अभियानसमेत सञ्चालन गरिरहेका छन् ।
गाउँका किशोरी दिदीबहिनीले कालान्तारमा समाजले बनाएका विभेदकारी संस्कारका कारण कुनै पनि दुःख भोग्न नपरोस् भन्दै सिंजा गाउँपालिका जोडुका विद्यार्थीले घरदैलो अभियान गर्दै आएका छन् ।
स्थानीय जोडुस्थित श्री माविमा अध्ययनरत २५ किशोर यस्तो अभियानमा लागेको सम्भवत यो जिल्लाकै पहिलो नमूना काम हो । प्लान इण्टरनेशनल नेपालको सहयोगमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले गाउँमा सञ्चालन गरेको तीन महीने परिवर्तनका संवाहक(सिओसी) कक्षापछि किशोरहरू पनि यस्तो अभियानमा लागेका हुन् ।
किशोरहरूले हिजोआज समूहमा मिलेर गाउँमा हिंसा तथा विभेदविरुद्ध घरदैलो कार्यक्रम गरिरहेको सिओसी कक्षाका सहजकर्ता दलबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार सिओसी कक्षा लिइसकेपछि किशोरहरुमा आएको आँट र जाँगरका कारण उनीहरु आफँै समाज परिवर्तनका लागि अग्रसर भएका हुन् । किशोर बमबहादुर बुढाले घरदैलोमै गएर स्थानीयवासीलाई लैङ्गिक तथा घरेलु हिंसाका विषयमा जानकारी दिन निकै गाह्रो भएको बताउनुभयो ।
“हाम्रो समाजमा छोरीमाथि निकै विभेद हुन्छ, छोरीलाई सकेसम्म अभिभावकले विद्यालय नै पठाउँदैनन्”, उहाँले भन्नुभयो, “हामी छोरा–छोरी एउटै हौँ, यही विभेद अन्त्यका लागि घरदैलो अभियान जारी राख्नेछौँ ।”
घरदैलोपछि गाउँमा लैङ्गिक हिंसा तथा छोरा–छोरीबीचको विभेद न्यूनीकरण हुँदै गएको अर्का किशोर राजेन्द्र बुढाले बताउनुभयो । “सिओसी कक्षाले हाम्रो बानीमा परिवर्तन त ल्यायो यसका साथै गाउँ समाजमा लैङ्गिक हिंसा गर्नेको बानीमा समेत हामी परिवर्तन गर्ने कोसिसमा छौँ”, उहाँले भन्नुभयो, “उक्त कक्षाकै कारण हामीमा बोल्न सक्ने र निर्णय गर्ने क्षमता वृद्धि भएको हो ।”
किशोर दाबहादुर रावतले यस्ता अभियानबाट गाउँमा छोरीलाई धेरै नपढाउने वा सानैमा बिहे गरिदिने परम्परा रोकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिओसी कक्षाले हामीलाई समूहमा मिलेर बस्न र निणर्य गर्न सिकाएको छ, सोही आधारमा पछि पर्ने समस्या समाधानका लागि हामी एकजुट भएर अघि बढ्ने छौँ ।”
सिओसी कक्षाका कार्यक्रम सुपरभाइजर शेरबहादुर रोकायाले यस्ता कक्षाले किशोर तथा किशोरीको क्षमता अभिवृद्धि गरेकाले बोल्ने, पढ्ने वा आत्मनिर्णय गर्ने क्षमता विकासका लागि जिल्लाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा पनि थप कक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार तीन गाउँपालिकामा आठ किशोरी र आठ किशोरका १६ समूहमा ८०० विद्यार्थी उक्त कक्षामा रहभागी भएका छन् ।