प्रेम सुनार । मंसिर–१०, गुल्मी । भारतिय नाकावन्दीले ढुवानीमा आएको समस्याका कारण गुल्मीमा अव चाउचाउ किन्न समेत प्रशासनबाट टोकन माग्नु पर्ने अवस्था सिर्जना हुने देखिएको छ । हिजो र आज गरी ओम सिद्धवावा ट्रेडर्श तम्घासबाट लाईनमा उपभोक्ताहरु राखेर १९ सय थान चाउचाउ वितरण गरेर सकिएको उक्त ट्रेडर्शका सञ्चालक गोमराज श्रेष्ठले बताए ।
उनका अनुसार तम्घासमा विभिन्न कम्पनीका ११ थरी चाउचाउका डिलरहरु छन् तर ढुवानीको समस्याले कुरेर बस्नु पर्ने अवस्था रहेको छ । दैनिक लाखौ रुपैयाँको चाउचाउ खपत हुने गुल्मीमा यस्तै हो भने चाउचाउमा समेत कुपनको आश गरेर बस्नु पर्ने अवस्था आउने पसलेहरु बताउ छन् । चाउचाउ संगै यहाँ अन्य उपभोग्य वस्तुको पनि अभाव भएको छ र महँङ्गी बढेको छ । कतिपय उपभोग्य वस्तुमा दोव्वर जस्तो मुल्य बृद्धि भएको छ । १ सय ९० रुपैयाँमा पाउने प्रति एक लिटर धारा तेल अहिले ग्रामिण भेगमा ३ सय सम्म पर्ने गरेको छ ।
यहि सदरमुकाम तम्घासमा प्रति लिटर २ सय ८० रुपैयाँमा बेच्ने गरिएको छ । सनफ्लवर तेल प्रति लिटर १ सय ४० मा पाईन्थ्यो अहिले २ सय ४० मा बेच्ने गरिन्छ । तेज तेल पनि १ सय ४० मा पाईन्थ्यो अहिले २ सय ३० मा बेच्न थालिएको छ , प्रति प्याकेट १२ रुपैयाँमा पाईने प्रिति चाउचाउ १५ मा बेच्ने गरिन्छ , १५ रुपैयाँमा पाईने रम्पम चाउचाउ अहिले २० पुगेको छ ।
प्रति किलो २० मा पाईने नुन अहिले २५ रुपैयाँ पुगेको छ । यसरी हरेक उपभोग्य वस्तुको महंङ्गीले उपभोक्ताहरु मारमा पर्दै आएका छन् । विशेष गरी ग्रागिण वस्तीका पसलेहरुले मन परी महंङ्गी बढाएको गुनासो आएको छ । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज कँडेलको ध्यानकृष्ट गराउँदा उनले तत्काल बजार अनुगमन टोली खटाउने प्रतिवद्धत्ता जनाए । उनले भने खाने तेलमा भएको बृद्धिलाई मैले रोक्न सक्दिँन अन्य कुरामा गरिएको बृद्धिमा मैले तत्काल अनुगमन टोली खटाउने छु ।
भारतिय नाकावन्दीले बृद्धि भएको माथी उल्लेखित वस्तु सवै स्वदेशमै उत्पादित हुन् । यस्ता स्वदेशमै उत्पादित वस्तुलाई साविककै मुल्यमा विक्रि वितरणको व्यवस्था मिलाउने तर्फ राज्यको माथील्लो निकायले कम्जोरी देखाएको सर्वसाधरणको गुनासो रहेको छ ।