२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जितियाको मुख्य विधि शुक्रबारदेखि शुरु

२०७६, २ आश्विन बिहीबार १२:१९

असोज २, जनकपुरधाम । मैथिल र थारु समुदायका महिलाको महान् लोक पर्व जितियाको मुख्य विधि शुक्रबारदेखि शुरु हँुदैछ । यसअन्तर्गत व्रतको सप्तमी तिथिमा नहाए खाए गरिन्छ । यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको पातमा तोरी वा सस्र्युंको तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।

सप्तमी तिथिकै दिन दिवङ्गता महिलाप्रति श्रद्धास्वरूप नैवेद्य अर्पण गरी महिलालाई निम्तो दिएर भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । यसैदिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ । शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खने चलन छ ।

सोही तिथिको रातिको अन्तिम प्रहरमा व्रतार्थी दही, च्यूरा । फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् । जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ ।

नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अपर्ण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।

पण्डित गणेश झाका अनुसार असोज ३ गते शुकबार तेलखरी, पितराइन र रातिको अन्तिम पहरमा (४ बजेदखि ५ः३० बजेभित्र) ओठङ्न विधि र सूर्योदय भएपछि अष्टमी तिथिमा( शनिबार) व्रत शुरू भई आइतबार दिउँसो ३ देखि ४ बजेपछि पारण गरिने योग रहेको छ ।

मिथिला पचाङ्गअनुसार जितियामा प्रदोष व्यापनी अष्टमीको प्रधानता रहेका कारण यो व्रत यसपटक षष्ठी उपरान्त सप्तमीका दिन (शुक्रबार) रातिको अन्तिम पहरमा गरिने विधि ओठङ्न रहेको छ । पहाडी समुदायका महिलाले दर खाने झैँ मैथिल महिलाले ओठङ्न विधि गर्दछन् ।

जितिया पर्व मैथिल संस्कृततिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुखशान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन छ । जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ । 

विशेषरुपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहिछन् भन्ने मान्यता पनि रहेको छ । जितिया पर्वको मुख्य उद्देश्य मोहप्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको धारणा पाइन्छ । यस पर्वबारे एउटा भनाई यसप्रकार छ ः

जितिया पावनी बड भारी

धियापूताके ठोकी सुतौलनी

अपने खयलनी भरि थारी

अर्थात् जितिया पर्व धेरै ठूलो छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविकता त्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताका क्रममा गरिने चरणको कार्य मात्र हो । यस व्रतमा व्रतीले दिनरात उपवासमा बस्नुपर्ने भएकाले ओठङ्नमा छाकभरि भोजन गर्छन् । महिलाले व्रत–उपवास गर्नुभन्दा पहिला नै खाने गरेकाले नै होला, यस व्रतका सन्दर्भमा माथि उल्लेख गरिएको भनाइको चलन भएको विश्वास छ ।

जिमुतवाहनको पूजा

अष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अपर्ण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताका बारेमा एउटी व्रतालु महिलाले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । 

त्यो पोखरीको डिलमा पाकडी रुखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् । 

जिमुतवाहन को हुन् ?

भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको सीमकृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।

चिल र स्यालको पनि पूजा

हिन्दूधर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ । सोहीअनुरुप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसोलगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ ।

जितिया पर्व कथा 

कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एक दिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए । व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो । दुवैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे । सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांंश भाग जलेपछि छोडेर घर फर्के । उनीहरु फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिइ मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो । 

कालक्रममा प्रयागको कुम्भ मेलामा दुवैको मृत्यु भयो । कुुम्भमा मृत्यु भएका कारण दुवैको जन्म वेदका ज्ञाता ‘भास्कर’ नामक ब्राम्ह्णको घरमा भयो । पूर्वजन्ममा चिलको शिलावती र स्यालको कर्पुरावतीका रुपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनवान्को घरमा र कर्पुरावतीको राजाको घरमा । जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मियो तर मृत्यु भयो । 

उहाँपछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शिलावतीले आप्mनी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै व्रत भङ्ग गरेका कारण यस जन्ममा तिम्रो सन्तानको मृत्युु भएको भनी जानकारी गराएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । त्यसै कारणले यो व्रत जति कठोर भए पनि व्रतलाई कसैले खण्डित गर्न चाहदैनन् ।

थारु जनजातिका महिलाबीच पनि यो पर्व अति लोकप्रिय रहेको छ । थारु समुदायमा विवाहित महिलाले आफ्ना सन्तति र पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने गर्छन् । यस समुदायमा पर्वको पहिलो दिन पिना र पहेंलो माटो मुछेर घिरौँलाका पातमा घिरौँलाकै फूलबाट पूजा गरिन्छ र त्यही माटोबाट कपाल नुहाइन्छ । भोलिपल्ट बिहान कुलदेवता बस्ने घरको पिँढीमाथि चिल र पिँढीदेखि तल स्यालको पूजा गरिन्छ । पर्वको तेस्रो दिन बिहान घरको आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ ।

जितिया व्रतमा प्रयोग हुने तोरी वा सस्र्यूंको तेल, पिना, घिरौँलाको पात, नैवेद्यका वस्तु स्वास्थ्य र संस्कृति दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ । व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एकदिन पनि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान गराउँछ । ओठङ्नको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाई तथा दिदीबहिनीबीच आत्मीयताको बोध गराउँछ ।

जिमुतवाहन भन्ने लोक देवताको व्रत हो । यस अवसरमा भनिने कथामा सामाजिक, धार्मिक र सांस्कृतिक मान्यता प्रतिबिम्वित भएको पाइन्छ । जितिया पर्वलाई दशैँ आगमनको सङ्केतका रुपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ । 

यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पुजन गरिन्छ । छोरा र छोरीमा भेद्भाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई अचेल आफ्ना सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ । ऐतिहासिक यस भू–भागमा बसोबास गर्ने मुस्लिमबाहेकका महिलाको पर्वका रुपमा पनि यसले आफ्नो अस्तित्व हालसम्म कायम राखेको छ । यसको एउटा भनाइ प्रसिद्ध छ ः

जितिया दशेँ दशमी, दशमी बीसे

सुकराति, सुकराति छवे छठी ।।

यस भनाइले पनि जितिया सकिएको लगभग विजयादशमीको रौनकतालाई प्रस्ट गर्दछ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वका रुपमा बुझ्नु जरुरी रहेको सन्देश पनि दिने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ