साउन १८, जुम्ला | हिमा–६ महावैपाथरखोला गाउँका उम्म रावतले उन्नतजातको बोका पाउनुभयो । स्थानीय जातको भेडा पालिरहेका उहाँलाई उन्नतजातको भेडापालन गर्ने धोको थियो । अहिले उहाँको इन्छा पूरा भएको छ । उहाँले भन्नुभयो, “भेडापालनलाई पनि उन्नत बनाउँदै लैजानु अहिलेको टड्कारो आवश्यकता हो । व्यावसायिकरूपमा गरिने उन्नतजातको भेडापालनले मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”
उम्म रावतजस्तै जिल्लाका तीन स्थानीय तहका आठ किसानले उन्नतजातको बोका र थुमा पाएका छन् । भेडाबाख्रा अनुसन्धान केन्द्र गुठीचौरमा लामो समयदेखि पालिरहेका अष्ट्रेलियन जातका भेडा तथा बोका किसानलाई उपलब्ध गराइएको हो । जिल्लाको तातोपानी गाउँपालिकाका दुई, हिमाका एक र तिलाका पाँच किसानलाई बोका र थुमा दिइएको हो ।
भेडापालनले किसानलाई फाइदा हुने स्थानीयवासी बताउँछन् । यो एक भेडा एक क्विन्टलसम्मको हुन्छ । मासु बेच्दा पनि राम्रो आम्दानी हुन्छ । ऊन पनि स्थानीय जातको भेडाभन्दा दोब्बर नै हुन्छ । ऊनबाट विभिन्न सामग्री बनाउन सकिने अवस्था रहन्छ । जुम्लाको वातावरणमा लामो समयदेखि पालन भइरहेकाले किसानलाई बोका र थुमा दिइएको हो ।
बोका र थुमा गरेर झण्डै रु पाँच लाखमा खरिद गरिएको हो । अनुकूलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले किसानलाई उन्नतजातका भेडा उपलब्ध गराएको हो । जुम्ला भेडापालनमा प्रचुर सम्भावना बोकेको क्षेत्र हो । तर परम्परागत भेडापालनले खासै उपलब्धि भएन । किसान भीमबहादुर रावतले भन्नुभयो, “उन्नतजातको भेडापालनले किसानको जीवनशैली परिवर्तन गर्न सक्छ । पछिल्लो समयमा उन्नतजातको भेडापालनप्रति किसान आकर्षित भइरहेका छन् ।” दसैँतिहारमा उन्नतजातको भेडाको माग पनि तीव्र हुन्छ । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका ६० वटै वडामा भेडापालन भइरहेको छ । रासस