2026-11-02 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

दोहोरो असुरक्षा झेल्दै बाँकेका नयाँगाउँवासी

साउन २३, राँझा। सीमा रक्षाको भूमिका निर्वाह गर्दै आएका बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नयाँगाउँवासी दोहोरो असुरक्षा झेल्न बाध्य छन् । प्रदेशसभा सदस्य आइपी खरेलको नेतृत्वमा नयाँगाउँको पछिल्लो अवस्था अध्ययनको लागि नेपालगञ्जबाट पुगेको टोलीसँग भारतीय पक्षबाट हुने गरेको सीमा अतिक्रमण र वन तथा नदीजन्य पदार्थ तस्करबाट दिनहुँ असुरक्षित बन्दै गएको स्थानीयले बताएका हुन् ।

भारतीय सीमासँग जोडिएको नयाँगाउँ पुग्न राप्तीसोनारी–४ वडा कार्यालयबाट मोटरसाइकलमा चारदेखि पाँच घण्टाको समय लाग्ने गर्दछ । करिब एक दशक अघि अस्तित्वमा आएको सो गाउँमा प्रहरी प्रशासन र सरकारी निकायको नियमित उपस्थिति हुन नसकेका कारण आफूहरु असुरक्षित हुँदै गएको नयाँगाउँ खयरभट्टीका बलबहादुर बुढाथोकीले बताउनुभयो । 

“भारतीयले सीमा मिच्दै आउन थालेका छन्् । सीमा कहाँ छ थाह छैन । दसगजामा नै जोतेर खेत रोप्दै आएका छन् । केही बोलौँ हाम्रो नै बासको ठेगान हुँदैन”, बुढाथोकीले नयाँगाउँको अवस्थाबारे भन्नुभयो, “कसैले हेरेन हामीलाई, सुरक्षा छैन, जसोतसो बाँच्ने काम भएको छ ।” एक दशक अघि राज्यको नजरमा परेको नयाँगाउँलाई साविक बैजापुर गाविस हुँदै अहिले राप्तीसोनारी गाउँपालिका–४ मा गाभ्ने काम भए पनि न्यूनतम आधारभूत सेवा सुविधा राज्यले पु¥याउन नसकेको बुढाथोकीले बताउनुभयो । 

“शिक्षा, स्वास्थ्य र खानेपानी केहीको पनि व्यवस्था छैन । सुरक्षाको त कुरै नगरौँ मौका पाउनासाथ भारतीय नागरिक र सीमामा रहेको अर्धसैनिक बल एसएसबीले गाउँमा आएर धम्काउने गर्दछन्, महिला दिदीबहिनी एक्लै हिँडडुल गर्ने अवस्था छैन”, बुढाथोकीले भन्नुभयो, “नेपाली भूमिमा आएर उनीहरुले जथाभावी गर्दा पनि हामी सहेर बस्न बाध्य भएका छौँ ।” 

नयाँगाउँको गुदनगौडीमा सरकारले स्वास्थ्यचौकी स्थापना गरे पनि नियमितरुपमा स्वास्थ्य सेवा र औषधि पाउन नसकेको स्थानीयको गुनासो छ । नयाँगाउँमा नेपाल प्रहरीको चौकी स्थापना गर्नुपर्ने र सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बलको टोली खटाइनुपर्ने स्थानीयवासीको माग रहेको छ । 

वडाध्यक्ष कान्छा थारुले भारतसँग जोडिएको पहाडी इलाकामा छरिएको बस्ती भएकाले नयाँगाउँमा असुरक्षा र असुविधा रहेको बताउनुभयो । उहाँले नयाँगाउँका कतिपय वडा नं १ र कतिपय नरैनापुर गाउँपालिकाका समेत बासिन्दा रहेको उल्लेख गर्दै सबै वडा नं ४ का नागरिक नभएको जानकारी दिनुभयो ।

“वडा नं ४ अन्तर्गत १३० जनाको अभिलेख रहेको छ, लकडाउनको बेला राहत बाँड्दा १२६ जनाको तथ्याङ्क सङ्कलन भए पनि १३० जनालाई वितरण गरी अभिलेख राखिएको छ”, वडाध्यक्ष थारुले भन्नुभयो, “नयाँगाउँवासीे कुन वडाको भन्नेनै निश्चित नभएको अवस्था रहेको छ ।” उहाँले नयाँगाउँ आवतजावतको लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत घोरेटोबाटो निर्माण गरिए पनि यो वर्ष त्यहाँ विकासको योजना नरहेको बताउनुभयो । 

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले नयाँगाउँवासी भारतीय पक्षबाट हुने गरेको सीमा अतिक्रमण र वन तथा नदीजन्य पदार्थ तस्करी गर्नेबाट दिनहुँ असुरक्षित बन्दै गएको बताउनुभयो । “म अस्ति मात्रै त्यहाँ पुगेर अवस्थाबारे बुझेर आएको थिएँ, जङ्गलको बीचमा रहेको बस्तीका कारण अवैध तस्करी गर्ने कार्यमा अवरोध पुगेकाले धम्काउने तर्साउने गरेको पाइएको छ”, अध्यक्ष थारुले भन्नुभयो, “नयाँगाउँवासीले सुरक्षाको माग गरेका छन् तर तत्कालै त्यहाँ सुरक्षा निकायको उपस्थिति हुने सम्भावना देखिँदैन ।”

उहाँले नयाँगाउँमा गाउँपालिकाबाट खानेपानी, स्वास्थ्यचौकी र विद्यालयमा लगानी भएको जानकारी दिनुभयो । बाँकेको अतिविकट मानिने उक्त ठाउँ नयाँगाउँका रुपमा परिचित छ । यहाँ झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासालगायत गाउँ रहेका छन् । 

नयाँगाउँको झोरहवामा वन अतिक्रमण भएको भन्दै डिभिजन वन कार्यालयले १३ घरमा आगजनी गरेपछि स्थलगत अवलोकनमा पुग्नुभएका प्रदेशसभा सदस्य एवं नेकपा बाँकेका अध्यक्ष खरेलले नयाँगाउँवासीले नेपाली सीमा रक्षकको काम गरिरहेको बताउनुभयो । 

“भारतीय पक्षले सीमा मिचिरहेको छ, दशगजा निश्चित छैन, प्रत्येक वर्ष सीमास्तम्भ सार्ने गरेको पाइएको छ”, उहाँले रासससँग भन्नुभयो, “भारतले सीमा मिच्दा प्रतिवाद गरिरहेका नयाँगाउँवासीले त्यहाँबाट अवैधरुपमा हुने गरेको वन तथा नदीजन्य पदार्थको तस्करीको समेत बाँधक बनेका छन्, त्यसैले उनीहरु दुवैतर्फबाट असुरक्षित छन् ।” रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द