२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै

१४ आश्विन २०७७, बुधबार ०८:४१

असोज १४, तम्घास । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्र्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ । 

आर्थिक वर्ष २०७६/७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको थियो । उनीहरुबाट प्रतिट्र्याक्टर एक हजार ५०० का दरले सप्लायर्स कम्पनीले रकम असुली गरेको पाइएको छ । 

अनुदानको ट्र्याक्टर खरिदका लागि गाउँपालिकाको छनोटमा परेको सप्लायर्स कम्पनीले फिटिङ गरेको, तेल तथा यातायात खर्चको बहाना बनाएर किसानबाट रकम असुली गरेको स्थानीय किसान बाबुराम ज्ञवालीले बताउनुभयो । “ट्र्याक्टर लिन जाँदा एक्कासी एक हजार ५०० का दरले रकम मागियो, हामी त अचम्ममा पर्यौं ”, उहाँले भन्नुभयो, “विना रसिद त्यसरी किसानबाट रकम लिनु उचित होइन ।” 

त्यसभन्दा पहिले नै ट्र्याक्टरको ५० प्रतिशत मूल्य रु ३२ हजार ५०० आफूहरुले बैंकमा जम्मा गरेको भन्दै उहाँले एक हजार ५०० बुझाउनेबारे कुनै जानकारी नभएको बताउनुभयो । यस्तै अर्का किसान सुब्बा बस्नेतले पनि सप्लायर्सले गैरकानूनी तरिकाले गाउँपालिकाका कर्मचारी र ठेकेदारको मिलेमतोमा किसानबाट रकम असुली गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “ट्र्याक्टर लिन जाँदा एक्कासी पैसा मागे, खोजेर भए पनि दियौँ र ट्र्याक्टर ल्यायौँ ।” उक्त रकम किन र कुन प्रयोजनका लागि तिरेको भन्नेबारेमा आफू अझै पनि अनभिज्ञ भएको उहाँले बताउनुभयो । 

ठेकेदार र गाउँपालिकाका कर्मचारीको मिलेमतोमा किसानबाट रकम उठाइएको भन्दै उहाँले तत्काल उक्त रकम फिर्ता गर्न र गैरकानूनी ढङ्गले रकम उठाउनेमाथि कारवाही गर्न माग पनि गर्नुभयो । सप्लायर्स कम्पनीले ३४ जना किसानबाट प्रतिकिसान एक हजार ५०० का दरले कूल रु ५१ हजार गैरकानूनी ढङ्गबाट असुली गरेको छ ।

गाउँपालिकाले आव २०७६/७७ मै ट्र्याक्टर वितरण गर्नुपर्ने थियो । त्यसो गर्दा उक्त ट्र्याक्टर खरिदबापतको भुक्तानी असार मसान्तसम्म मात्रै हुन्थ्यो तर सम्बन्धित सप्लायर्स र कर्मचारीको मिलेमतोमा साउनको तेस्रो हप्तामा मात्र किसानलाई ट्र्याक्टर उपलब्ध गराइएको स्थानीय युवा किसान पाण्डेले बताउनुभयो । “ट्र्याक्टरका लागि आवश्यक ५० प्रतिशत रकम किसानले पहिले नै बुझाउनुभएको थियो”, उहाँले भन्नुभयो, “पछि बुझाउने रकमबारे पूर्वजानकारी पनि थिएन र रसिद पनि दिइएको छैन ।” 

गाउँपालिकाले गत आवको कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, २ मा आठ, ४ मा सात, ५ मा १२ तथा वडा नं ६ मा चार जना किसानलाई हाते ट्र्याक्टर प्रदान गरेको छ । उक्त अनुदानका लागि रु ११ लाख ५० हजार गाउँपालिका र त्यति नै रकम किसानले जम्मा गरेको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी न्यौपानेले जानकारी दिनुभयो । 

गाउँपालिकाका जिन्सी शाखा प्रमुख मनिष पाण्डेले आफूहरुले सकेसम्म न्यूनदरमै किसानलाई ट्र्याक्टर उपलब्ध गराउन खोजेको तर पछि सप्लायर्स कम्पनीले रकम उठाएको प्रतिक्रिया दिनुभयो । ठेकेदारले मिस्त्री चार्ज, तेल र यातायात खर्चको बहानामा किसानबाट रकम उठाएको उहाँले बताउनुभयो । यसमा आफूहरुको मिलेमतो नभएको र ठेकेदारले झुक्याएको उहाँले स्पष्ट पार्नुभयो । 

गाउँपालिकाका अध्यक्ष नीकलण्ठ गौतमले ठेकेदारले किसानबाट रकम असुल गरेकोबारे आफूलाई अहिलेसम्म कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो । उहाँले गैरकानूनी ढङ्गबाट त्यसरी रकम उठाउने सप्लायर्सलाई स्पष्टीकरण सोधिने र छानविनका क्रममा दोषी ठहरिए कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

ट्र्याक्टर सप्लायर्स कम्पनी गिरिधरी कृषि मेसिनरी सप्लायर्सका सञ्चालक गिरिधरी चौधरीले आफूले गाउँपालिकाका कर्मचारीमार्फत किसानले पछि तिर्नुपर्ने शुल्कका बारेमा जानकारी गराएको बताउनुभयो । ट्र्याक्टरको मोबिल, तेल, मिस्त्रीलगायत कामका लागि खर्च भएको रकम आफूले लिएको स्वीकार गर्नुभयो । गाउँपालिकामा ‘कोटेशन’ दर्ता गर्दा नै पछि तिर्नुपर्ने शुल्क उल्लेख नगरेकाले आफूले अहिले रकम लिएको उहाँले प्रतिक्रिया दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन