पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस ६, बैतडी (रासस) । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ । यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो बनाइएको हो । </p><p>आकस्मिक कामका लागि सहजै आवतजावत गर्न दिइएको बैतडीका सहायक प्रमुुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढस्थित उपजिल्ला अधिकारीको कार्यालयबीचको सहमतिमा आवतजावतमा खुकुलो बनाइएको छ”, उहाँले भन्नुुभयो, “आकस्मिक काम परेका व्यक्ति, बिरामी, भारतीय कर्मचारी, भारतीय सेनाका जागीरेलाई आवतजावत गर्न दिइएको छ । भारतमा मजदुरीका लागि जानेका लागि भने अहिलेलाई भारतको तर्फबाट अनुमति दिइएको छैन ।” </p><p>नेपालको तर्फबाट मजदुर पनि जान दिइएको भए पनि भारतले मजदुरीका लागि जाने नेपाली कामदारलाई जान नदिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । उत्तराखण्ड प्रदेशमा अझै कोरोनाको जोखिम कायम रहेकाले भारत सरकारले उक्त प्रदेशका नाकामा कडाइ गरेको जनाइएको छ ।</p><p> मजदुरीका लागि भारत जानेलाई हाललाई सुदूरपश्चिमको गड्डाचौकी र त्रिनगर नाकाबाट जान दिइएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको भन्दै गत चैतदेखि नेपालले अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो । </p>

