न्युज कारखाना | असोज ५, बैतडी | जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । बस्ने क्षमताको तेब्बर हुँदा बन्दीहरूलाई बस्न निकै समस्या भएको छ ।

२५ जनाको क्षमता भएको कारागारमा अहिले ७५ जना कैदीबन्दी राखिएका छन् । क्षमताभन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए ।

कैदीबन्दीहरूलाई बसोबासको समस्या भएपछि कारागार परीसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको उनले बताए । ‘कैदी बन्दीहरूलाई बसोबासकै समस्या रहेको छ । क्षमताभन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या भएको छ’, उनले भने ।

कारागार परिसरमा दुईवटा टेन्ट राखिएका छन् भने कोठाहरूमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको तिवारीले बताए ।

यसका साथै कारागारको पुरानो भवन पनि जीर्ण भइसकेको छ । जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेल्धुरा पठाउनुपर्ने बाध्यता छ ।