माघ १६, पाल्पा | ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा पाल्पाको तिनाउ गाउँपालिका–३ मा एक जनाको मृत्यु भएको छ।
नवलपरासी पश्चिम पालिनन्द गाउँपालिका–२ का २४ वर्षीय अजिम पठानको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतबार दिउँसो करिब २ बजे तिनाउ गाउँपालिका–३ भूतखोलामा ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा उनी अचानक चिप्लिएर पोखरीमा डुबेका थिए।
तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लैजाने क्रममा पठानलाईचिकित्सकले मृत घोषणा गरेका थिए।
उनी रूपन्देहीको सिद्धार्थ नगरपालिका ४ का दीपककुमार बानियाँसँगै घुम्न आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।