२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा एशियाकै पहिलो हाते कागज उद्योग २ वर्षदेखि बन्द, एक करोड बराबरको लगानी खेर

२०७७, ७ मंसिर आईतवार ०९:४२

मंसिर ७, बझाङ | बझाङको जयपृथ्वी नगरपालिकामा अवस्थित मालिका हाते कागज उद्योग दुई वर्षदेखि बन्द रहेको छ । सो उद्योग दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तरराष्ट्रिय संस्था फरेस्ट स्टेवार्ड सिप काउन्सील (एफएससी)बाट प्रमाणित एशियाको पहिलो सामुदायिक उद्योग मानिन्छ । उद्योग बन्द भएपछि यहाँ रहेका संरचना र उपकरण पनि अलपत्र परेका छन् । भवनको वरपर झार पलाएको छ । गाउँबाट करिब तीन किलोमिटर टाढा हमरसैनमा उद्योग रहेको छ । भवनका काठ पनि स्थानीयले लगेका कारण भवन नै भत्किने अवस्थामा पुगेको छ । हाते कागज बनाउँदा पानी जम्मा गर्ने पोखरी समेत भत्किएको छ । 

कागज बनाउने फ्रेम स्थानीयले दाउरा बनाउन प्रयोग गरेका छन् । लाखौँ मूल्य पर्ने विटर (कागज बनाउन प्रयोग गरिने लोक्ता फिट्ने) औजारमा खिया लागेका छन् भने औजारका महत्वपूर्ण पाटपुर्जा चोरी भएको स्थानीयले बताएका छन् । यस्तै उद्योग भवनमा रहेका खानेपानीका पाइप, लोक्ता पकाउने ड्रम, कागज बनाउँदा प्रयोग गरिने काष्टिक सोडा र नुरीलगायतका रसायनसमेत चोरी भएका छन् । कुनैबेला स्थानीयको रोजगारीको केन्द्रका रुपमा रहेको हाते उद्योगको घेरबार भत्किएर अहिले गौचरनमा परिणत भएको छ । उद्योग भवनग्वाला, गोठालाको शौच गर्ने ठाउँमा परिणत छ । 

उद्योग बन्द हुँदा झण्डै एक करोड बराबरको स्थानीय समुदाय र विभिन्न दातृ संस्थाको लगानी पनि खेर गएको छ । विसं २०५६ मा साविक कैलाश गाविसका स्थानीय र अन्तरराष्ट्रिय गैर सरकारी संस्था एन्साबको पहलमा सो उद्योगको स्थापना भएको थियो । कैलाशमा रहेको विनायक पिमिडाँडा सामुदायिक वनमा आबद्ध २५० परिवारको लगानी रहेको सो उद्योगलाई एन्साबले तत्कालीन समय पाँच लाख बराबरको उपकरण र प्रविधिमा अनुदान सहयोग गरेको थियो । 

यसपछि उद्योगको सञ्चालन, प्राविधिक क्षमता विकास, बजार व्यवस्थापन, पूर्वाधार निर्माण र नवीनतम् प्रविधिका उपकरण खरिद गर्नका लागि विभिन्न सङ्घसंस्थाले एक करोड बराबरको सहयोग गरिसकेका छन् । उद्योग खुलेपछि जिल्लाको दुर्गम तथा आर्थिक हिसाबलेसमेत पिछडिएको पिमिगाउँका स्थानियलाई उद्योगले ठुलो आर्थिक टेवादिएको थियो । दिगो तरिकाले व्यवस्थापन गरेको वन पैदावार प्रयोग गरी सञ्चालनगरिएको एसिया कै पहिलो सामुदायिक उद्योगका रुपमा सो उद्योगलाई ‘फरेस्ट स्टेवार्ड सीप काउन्सिल (एफएससी)’२०६४ सालमा प्रमाणीकरण गरेपछि यसको चर्चा विश्वभर भएको थियो । 

सफल सामुदायिक उद्योगका रुपमा चर्चा पाएको सो उद्योग हेर्न र सिक्नका लागि जिल्लाभित्र मात्रै नभएर हुम्ला, मुगु, जुम्ला, डोल्पा, दोलखा जिल्लाका उद्योगी तथा जनप्रतिनिधि यहाँ पुग्दथे । प्रत्यक्ष र अप्रत्यक्ष गरी ३०० भन्दाबढीलाई रोजगारी दिइरहेको सो उद्योग बन्द भएपछि यहाँ भएको लगानी मात्रै खेर नगएर रोजगारी पनि खोसिएको स्थानीय बताउँछन् । 

उद्योग सञ्चालन भएदेखि हालसम्म एन्साबले विभिन्न शीर्षकमा ५० लाख जडीबुटी व्यवस्थापनमा काम गर्ने अमेरिकी कम्पनी अवेदाले १० लाख, नेपालकै जडीबुटीको कारोवार गर्ने कम्पनी हिमालयन बायोट्रेड लिमिटेडले ५ लाख, बहुसरोकारवाला वन कार्यक्रमले १३ लाख र स्थानीयको श्रमदान गरी एक करोडभन्दा बढी रकम उद्योगमा लगानी भइसकेको जनाइएको छ । उद्योग स्थापनाकालमा कार्यरत कर्मचारी स्थानीय गोविन्द कामीले उद्योगले स्थानीयलाई रोजगारीका साथ देशकै इज्जतसमेत बढाएको बताउँछन् । 

लोक्ता तथा कागज ढुवानी गर्ने, दाउरा बिक्री गर्नेलगायत कामबाट यहाँका ३०० भन्दाबढी स्थानीयले आयआर्जन गर्दथे । यहाँ उत्पादित नेपाली हाते कागज जापान, कोरिया, जर्मनीलगायत तेस्रो मुलकमा निर्यात हुने गरेको थियो । कागज बिक्रीबाट भएको नाफा लगानीकर्ता सदस्य घरधुरीलाई प्रत्येक वर्ष वितरण गर्ने नियम भए पनि एकपटक मात्रै त्यसो गरिएको स्थानीय बताउँछन् । सञ्चालन भएको दुइ वर्षपछि एकपटक लगानी आधारमा प्रतिपरिवार एक हजारदेखि १० हजारसम्म रकम बाँढेका हुन् । स्थानीय ध्वजबहादुर सिंहले भने, “त्यसपछि जसले जिम्मा पाए उसैले खाए । समुदायलाई एक सुको पनि दिएका छैनन् । अहिले त उद्योग नै बाँझो भइसक्यो ।”

उद्योगका प्रबन्ध सञ्चालकसमेत रहेका जयपृथ्वी नगरपालिका वडा नं १ का वडाध्यक्ष गगनबहादुर सिंहले व्यवस्थापनले ध्यान दिन दिन नसक्दा उद्योग धरासायी भएको बताए । “म वडा अध्यक्ष भएँ त्यता ध्यान दिन पाइन । जिम्मा दिएका साथीले इमान्दारीपूर्वक काम गरेनन् । त्यसैले यस्तो भयो ” उहाँले पुनः सञ्चालनका लागि विभिन्न संस्थालाई सहयोग माग्ने काम भइरहेको र निकट भविश्यमै उद्योग पुनःसञ्चालनमा आउने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह