मंसिर ७, बझाङ | बझाङको जयपृथ्वी नगरपालिकामा अवस्थित मालिका हाते कागज उद्योग दुई वर्षदेखि बन्द रहेको छ । सो उद्योग दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तरराष्ट्रिय संस्था फरेस्ट स्टेवार्ड सिप काउन्सील (एफएससी)बाट प्रमाणित एशियाको पहिलो सामुदायिक उद्योग मानिन्छ । उद्योग बन्द भएपछि यहाँ रहेका संरचना र उपकरण पनि अलपत्र परेका छन् । भवनको वरपर झार पलाएको छ । गाउँबाट करिब तीन किलोमिटर टाढा हमरसैनमा उद्योग रहेको छ । भवनका काठ पनि स्थानीयले लगेका कारण भवन नै भत्किने अवस्थामा पुगेको छ । हाते कागज बनाउँदा पानी जम्मा गर्ने पोखरी समेत भत्किएको छ ।
कागज बनाउने फ्रेम स्थानीयले दाउरा बनाउन प्रयोग गरेका छन् । लाखौँ मूल्य पर्ने विटर (कागज बनाउन प्रयोग गरिने लोक्ता फिट्ने) औजारमा खिया लागेका छन् भने औजारका महत्वपूर्ण पाटपुर्जा चोरी भएको स्थानीयले बताएका छन् । यस्तै उद्योग भवनमा रहेका खानेपानीका पाइप, लोक्ता पकाउने ड्रम, कागज बनाउँदा प्रयोग गरिने काष्टिक सोडा र नुरीलगायतका रसायनसमेत चोरी भएका छन् । कुनैबेला स्थानीयको रोजगारीको केन्द्रका रुपमा रहेको हाते उद्योगको घेरबार भत्किएर अहिले गौचरनमा परिणत भएको छ । उद्योग भवनग्वाला, गोठालाको शौच गर्ने ठाउँमा परिणत छ ।
उद्योग बन्द हुँदा झण्डै एक करोड बराबरको स्थानीय समुदाय र विभिन्न दातृ संस्थाको लगानी पनि खेर गएको छ । विसं २०५६ मा साविक कैलाश गाविसका स्थानीय र अन्तरराष्ट्रिय गैर सरकारी संस्था एन्साबको पहलमा सो उद्योगको स्थापना भएको थियो । कैलाशमा रहेको विनायक पिमिडाँडा सामुदायिक वनमा आबद्ध २५० परिवारको लगानी रहेको सो उद्योगलाई एन्साबले तत्कालीन समय पाँच लाख बराबरको उपकरण र प्रविधिमा अनुदान सहयोग गरेको थियो ।
यसपछि उद्योगको सञ्चालन, प्राविधिक क्षमता विकास, बजार व्यवस्थापन, पूर्वाधार निर्माण र नवीनतम् प्रविधिका उपकरण खरिद गर्नका लागि विभिन्न सङ्घसंस्थाले एक करोड बराबरको सहयोग गरिसकेका छन् । उद्योग खुलेपछि जिल्लाको दुर्गम तथा आर्थिक हिसाबलेसमेत पिछडिएको पिमिगाउँका स्थानियलाई उद्योगले ठुलो आर्थिक टेवादिएको थियो । दिगो तरिकाले व्यवस्थापन गरेको वन पैदावार प्रयोग गरी सञ्चालनगरिएको एसिया कै पहिलो सामुदायिक उद्योगका रुपमा सो उद्योगलाई ‘फरेस्ट स्टेवार्ड सीप काउन्सिल (एफएससी)’२०६४ सालमा प्रमाणीकरण गरेपछि यसको चर्चा विश्वभर भएको थियो ।
सफल सामुदायिक उद्योगका रुपमा चर्चा पाएको सो उद्योग हेर्न र सिक्नका लागि जिल्लाभित्र मात्रै नभएर हुम्ला, मुगु, जुम्ला, डोल्पा, दोलखा जिल्लाका उद्योगी तथा जनप्रतिनिधि यहाँ पुग्दथे । प्रत्यक्ष र अप्रत्यक्ष गरी ३०० भन्दाबढीलाई रोजगारी दिइरहेको सो उद्योग बन्द भएपछि यहाँ भएको लगानी मात्रै खेर नगएर रोजगारी पनि खोसिएको स्थानीय बताउँछन् ।
उद्योग सञ्चालन भएदेखि हालसम्म एन्साबले विभिन्न शीर्षकमा ५० लाख जडीबुटी व्यवस्थापनमा काम गर्ने अमेरिकी कम्पनी अवेदाले १० लाख, नेपालकै जडीबुटीको कारोवार गर्ने कम्पनी हिमालयन बायोट्रेड लिमिटेडले ५ लाख, बहुसरोकारवाला वन कार्यक्रमले १३ लाख र स्थानीयको श्रमदान गरी एक करोडभन्दा बढी रकम उद्योगमा लगानी भइसकेको जनाइएको छ । उद्योग स्थापनाकालमा कार्यरत कर्मचारी स्थानीय गोविन्द कामीले उद्योगले स्थानीयलाई रोजगारीका साथ देशकै इज्जतसमेत बढाएको बताउँछन् ।
लोक्ता तथा कागज ढुवानी गर्ने, दाउरा बिक्री गर्नेलगायत कामबाट यहाँका ३०० भन्दाबढी स्थानीयले आयआर्जन गर्दथे । यहाँ उत्पादित नेपाली हाते कागज जापान, कोरिया, जर्मनीलगायत तेस्रो मुलकमा निर्यात हुने गरेको थियो । कागज बिक्रीबाट भएको नाफा लगानीकर्ता सदस्य घरधुरीलाई प्रत्येक वर्ष वितरण गर्ने नियम भए पनि एकपटक मात्रै त्यसो गरिएको स्थानीय बताउँछन् । सञ्चालन भएको दुइ वर्षपछि एकपटक लगानी आधारमा प्रतिपरिवार एक हजारदेखि १० हजारसम्म रकम बाँढेका हुन् । स्थानीय ध्वजबहादुर सिंहले भने, “त्यसपछि जसले जिम्मा पाए उसैले खाए । समुदायलाई एक सुको पनि दिएका छैनन् । अहिले त उद्योग नै बाँझो भइसक्यो ।”
उद्योगका प्रबन्ध सञ्चालकसमेत रहेका जयपृथ्वी नगरपालिका वडा नं १ का वडाध्यक्ष गगनबहादुर सिंहले व्यवस्थापनले ध्यान दिन दिन नसक्दा उद्योग धरासायी भएको बताए । “म वडा अध्यक्ष भएँ त्यता ध्यान दिन पाइन । जिम्मा दिएका साथीले इमान्दारीपूर्वक काम गरेनन् । त्यसैले यस्तो भयो ” उहाँले पुनः सञ्चालनका लागि विभिन्न संस्थालाई सहयोग माग्ने काम भइरहेको र निकट भविश्यमै उद्योग पुनःसञ्चालनमा आउने जानकारी दिए । रासस