2026-09-01 10:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगलागी भएको बडागाउँको पुनर्निर्माण सम्पन्न

हुमाकान्त पोखरेल | माघ १, गुल्मी | आगलागीबाट क्षति भएको गुल्मीको मुसिकोट नगरपालिका–४ बडागाउँस्थित दजाकोटमा पुनःनिर्माण सम्पन्न भएको छ । २०७३ वैशाख १८ गते सामुदायिक वनबाट लागेको आगोबाट बडागाउँस्थित दजाकोटको सिङ्गो बस्तीनै जलेर नष्ट भएको थियो । अहिले क्षति भएका घरहरुको पुनःनिर्माण सम्पन्न भएको छ । सो बस्तीमा खानेपानीलगायत आवश्यक पूर्वाधार निर्माण पनि भइसकेको बताइएको छ । 

आगलागीबाट सो बस्तीमा एक जनासहित ५७ घरगोठ र झण्डै पाँच दर्जन पशु चौपायको मृत्यु भएको थियो भने अन्य १७ घरमा आशिंक क्षति भएको थियो । आगलागीबाट खानेपानीका पाइप जलेकाले खानेपानी नभएर गाउँनै काकाकुल बन्ने अवस्थामा देश विदेशबाट जुटेको सहयोगले पुनःनिमार्णको काम सम्पन्न भएको हो । 

घरमै पानी आएकाले दजाकोटवासीले पीडा बिर्संदै गएका छन् । आगलागीमा नष्ट भएका घरलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरी घर निर्माण कार्य अगाडि बढाइएको थियो । तीमध्ये आर्थिक अवस्था अत्यन्तै कमजोर भएकालाई ‘क’, मध्यमस्तर भएकालाई ‘ख’ र उच्च आर्थिकस्तर भएकालाई ‘ग’ श्रेणीमा राखी घर निर्माण गरिएको स्थानीयवासी बताउँछन् । 

घर पुनःनिर्माण्का लागि ‘क’ श्रेणीमा पर्नेले राहतस्वरुप रु तीन लाख ३५ हजार, ‘ख’ श्रेणीमा पर्नेले रु दुई लाख ७० हजार र ‘ग’ श्रेणीमा पर्नेले रु दुई लाख २० हजार प्राप्त गरेका थिए । पीडितले सो रकम तीन पटकमा भुक्तानी लिएका थिए । पहिलो पटक डीपीसी गरेपछि ४० प्रतिशत, दोस्रो पटक झ्याल, ढोका राखेर लिङ्टेल गरेपछि ३० प्रतिशत र सबै काम सकेपछि ३० प्रतिशत गरी भुक्तानी लिएको बडागाउँ अग्निपीडित राहत सक्कलन तथा वितरण समितिले जनाएको छ । 

जिल्ला प्राविधिक कार्यालयले बनाएको भूकम्प प्रतिरोधी घरको नक्साको आधारमा पीडितले घर बनाएका छन् । प्रत्येक घरको नक्सा इन्जिनीयरद्वारा पास गराइसकेपछि साना किसान कृषि सहकारी संस्थामा रहेको पीडितको खातामा रकम जम्मा गरिएको थियो । यसरी पीडितलाई प्रदान गरिने रकम भने विदेशमा बस्ने नेपालीहरु, विभिन्न संघसंस्था, आमा समूहद्वारा सक्कलन गरिएको राहत समितिले जनाएको छ । दजाकोटमा क्षति भएका घरको पुर्नःनिर्माणसँगै झण्डै रु दुई करोडको लागतमा लिफ्ट प्रणालीबाट घरघरमा खानेपानी पु¥याइएको छ । 

आगलागी भएलगत्तै जिल्ला प्रशासन कार्यालयले रु पाँच हजार, जिल्ला विकास समितिले चर्पी निर्माणका लागि रु पाँच हजार र पशु सेवा कार्यालयले गोठ निर्माणका लागि रु १० हजार आर्थिक सहयोग उपलब्ध गराएको थियो । मुसिकोट नगरपालिकाले पनि प्रत्येक पीडितलाई रु एक÷एक लाखका दरले पुनःनिर्माणमा सहयोग गरेको थियो । आगलागी पीडितका लागि विभिन्न सङ्घसंस्थाले तुरुन्तै सामान्य बसोवास गर्ने गरी टहरा निर्माण गरिदिएका थिए । आगलागीबाट घर जलेसँगै ३ सय ३१ परिवार प्रभावित भएका थिए ।

अगालागीमा स्थानीयवासी कालीकुमारी गाहाका घर गोठसहित १५ बाख्रा, एक हल गोरु, दुई भँैसीसहित सबै सम्पत्ति जलेको थियो । “आँखै अगाडि घरसहित सबै सम्पत्ति जलेर सकिए”, उहाँले भन्नुभयो, “अहिले घर बनाएका छौँ, पानी आएको छ, पीडा बिर्सदै गएका छौँ ।” सोही ठाउँका सावित्रा गाहाको पनि ६ कोठे घरसँगै सबै सम्पत्ति आगोमा जल्यो । अझै घर बनाएको ऋण तिर्न बाँकी रहेकाले पुरानो याद आउने गरेको उहाँको भनाइ छ । “उतिबेला पनि नयाँ बनाएको घर आगोले खाइदियो, त्यसपछि ऋणधन गरेर अर्को घर बनायौँ”, उहाँले भन्नुभयो, “यति छिटो पुनःनिर्माण होला भनेर सोचेका पनि थिएनौँ ।”

सम्पत्तिसहित गाउँमा पिउने पानी समेत नहुँदा विस्थापित हुने मानसिकतामा पुगेका परिवारलाई पनि पुनःनिर्माण र खानेपानी घरघरमा आएपछि खुशी मिलेको मुसिकोट नगरकार्यपालिकाका सदस्य हरि छन्त्यालले जानकारी दिनुभयो । गुल्मी जिल्लाकै इतिहासमा आगलागीबाट सबैभन्दा ठूलो क्षति दजाकोटमा भएको थियोे । अब अग्नि स्मृति स्मारक र अकलादेवीको मन्दिर निर्माणको काम भने बाँकी रहेको सदस्य छन्त्यालले जानकारी दिनुभयो । 

 मुसिकोट नगरपालिकाले बडागाउँस्थित दजाकोटलाई घरवास (होमस्टे) का रुपमा विकास गर्ने योजना बनाएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो । उहाँले घरवास, पशुपालन र कृषिमार्फत दजाकोटवासीलाई आर्थिक वृद्धिसंग जोडिने बताउनुभयो । 

दाजकोटमा पहिले अस्थायी मूलबाट ६ महिना मात्रै खानेपानी पुग्थ्यो ।  हिउँदभर उनीहरुलाई खानेपानीका लागि खोल्सा र पँधेरा पुग्नुपर्ने बाध्यता थियो । प्रयाप्त खानेपानी नभएकै कारण आगलागीको ठूलो क्षति व्यर्होनु प¥यो । तर, अहिले सबैको घर–घरमा खानेपानीका धारा छन् । “डेढवर्ष पहिलेसम्म उज्यालो नहुँदै पानी बोक्न पधेँरा जान्थ्यौँ, धेरै दुःख थियो”, स्थानीयवासी राजमाया पुनले भन्नुभयो, “अहिले घरमै धारा आउला भन्ने सोचेकी पनि थिइन् ।” भग्लामगैरा–दजाकोट लिफ्ट खानेपानी तथा सरसफाइ योजनामार्फत अहिले ११८ घरमा एक घर एक धारा सञ्चालनमा छन । 

सो क्षेत्रमा ६५ हजारका दुई र एक लाख लिटरका एक ट्याङ्की निर्माण गरेर खानेपानीको व्यवस्थापन गरिएको निर्माण समितिका अध्यक्ष देवबहादुर दर्लामीले जानकारी दिनुभयो । पहिले स्थानीयवासीले अस्थायी पँधेरा व्लाङ्दी, खोलाङ्दी र धारापानीलगायत ठाउँबाट खानेपानी ल्याउने गर्थे । सो खानेपानी योजना निर्माणका लागि प्रतिघर ७० दिन श्रमदान र रु १० हजार, पूर्वसांसद गोकर्ण विष्टको स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ६५ लाख तथा प्रदेश सरकारबाट रु ९० लाख खर्च भएको थियो । कूल रु दुई करोडको लागतमा सो योजना निर्माण भएको अध्यक्ष दर्लामीले बताउनुभयो । गाउँमा पानी आएपछि स्थानीयवासीको दैनिकी फेरिएको छ ।

 पहिले काकाकुल जस्तै बनेका स्थानीयवासीले अहिले घर नजिक तरकारीखेती गर्ने, सरसरफाइमा ध्यान दिने र पानी बोक्ने समय अन्यत्रै लगाउन थालेको स्थानीयवासी ज्योति घर्ती गाहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला