२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैङ्क’

२०८०, १८ पुष बुधबार ०३:३१

पुस १८, गण्डकी | विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुभारम्भ गरिएको हो । 

सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७  सदस्यलाई शपथ ग्रहण गराएका थिए । युवालाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव संसाधनमार्फत गाउँपालिकाको समग्र विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको उनले बताए ।

रोजगार बैङ्कमा आबद्ध सदस्यलाई गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका आयोजना, निजी क्षेत्र, निर्माण व्यवसाय, कृषि, सहकारी र उद्यमका विकासका काममा लगाइने उनको भनाइ छ । “गाउँपालिकामा सञ्चालन हुने विकास योजना, ढुङ्गाखानी उत्खननलगायत स्थानीय उद्योगधन्दामा आवश्यक जनशक्ति आपूर्ति र रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई न्यूूनीकरण गर्न श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको हो,” अध्यक्ष बिकले भने “पहिलो चरणमा वडा तहबाट आवेदन सङ्कलन गरेर रोजगार बैङ्कमा ६७ जनालाई सूचीकृत गरेका छौँ ।”

स्थानीय दक्ष जनशक्ति परिचालन गरी विकास योजनालाई समयमै र गुुणस्तरीय रुपमा सम्पन्न गराउने, युवाको सीप र दक्षताको प्रयोगमार्फत सामाजिक रुपान्तरण, सामाजिक विकृति न्यूनीकरण, श्रमिकको सम्मान र सुरक्षा गर्ने बैङ्कको उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताए ।

गाउँपालिकाले बजेट विनियोजन गरेका, सङ्घीय र प्रदेशका आयोजनामा श्रम बैङ्कमार्फत जनशक्ति आपूर्ति गरिने उनले उल्लेख गरे । गाउँपालिकाभित्र रहेका निर्माण व्यवसायी र सञ्चालकहरुलाई पनि रोजगार बैङ्कमा सूचीकृत गरिने जनाइएको छ।  

चालु आर्थिक वर्षमा रु तीन करोड छ लाख बजेट बराबरको योजना श्रम बैङ्कमार्फत कार्यान्वयन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए । “विकास निर्माणका अलावा सामाजिक गतिविधिमा पनि श्रम बैङ्कका जनशक्तिलाई परिचालन गर्छौं,” उनले भने, “श्रम बैङ्क सञ्चालनका लागि कार्यविधि बनाएका छौँ, श्रमिकको सम्मान र श्रमको उचित ज्यालाको सुनिश्चितता गर्न गाउँपालिका प्रतिबद्ध छ ।”

गाउँपालिकाले ताराखोलामा रहेका सबै दुुई हजार दुई सय घरधुरीबाट एक–एकजनालाई बैङ्कमा आबद्ध गराउने लक्ष्य लिएको छ । कार्यविधिमा दैनिक आठ घण्टा काम गर्ने मजदुुरलाई गाउँपालिकाको योजनामा प्रतिघण्टा रु एक सय १०, प्रदेश, सङ्घीय योजना र निजी क्षेत्रका काममा प्रतिघण्टा रु एक सय १५ का दरले ज्याला उपलब्ध गराइने व्यवस्था छ । 

मासिक रु १७ हजार तीन सय ज्यालामध्ये ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरिने भएको छ । गाउँपालिकाले श्रमिकलाई काम दिन नसके वा श्रमिकको एक महिनाको ज्याला रु १० हजार आठ सय २० भन्दा कम दिएमा सामाजिक सुुरक्षा कोषमा गाउँपालिकाले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत जम्मा गर्ने व्यवस्था गरिएको छ । 

एक महिनाको ज्याला रु १० हजार आठ सय २० भन्दा बढी भएमा गाउँपालिकाले १० प्रतिशत र श्रमिकले २१ प्रतिशत बराबरको रकम जम्मा गर्नुपर्नेछ । श्रम बैङ्कमा आबद्ध निर्माण व्यवसायीले सामाजिक सुुरक्षा कोषमा २६ प्रतिशत र गाउँपालिकाले ६ प्रतिशत जम्मा गर्नेछन् ।  

श्रम बैङ्कमा आबद्ध श्रमिक र आश्रित परिवारलाई सामाजिक सुुरक्षा भत्ता, औषधि उपचार, मातृत्व सुुरक्षा योजना, बिरामी बिदा, दुर्घटना बीमा, किरिया खर्च, शैक्षिक छात्रवृत्तिलगायत सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । एकजना श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको १० प्रतिशत सहभागितासहित वार्षिक रु एक लाख १५ हजार १९ खर्च गरिने भएको छ । 

श्रम रोजगार बैङ्कमा आबद्ध सदस्यहरुका लागि कार्यस्थलमा मादक पदार्थ सेवन गर्न नपाउने, तोकिएको पोसाक र सामग्रीसहित गाउँपालिकाले लगाएको काम गर्नुपर्ने, काममा अनुपस्थित हुँदा व्यवस्थापकलाई जानकारी गराउनुपर्ने, सार्वजनिक रुपमा गाउँपालिकाविरुद्ध अभिव्यक्ति दिन नपाउनेलगायत आचारसंहिता बनाइएको गाउँपालिकाका अध्यक्ष बिकले बताए ।

श्रम रोजगार बैंकमा आबद्ध चन्द्रबहादुर रोकाले गाउँपालिकाले युवालाई लक्ष्य गरी रोजगारको कार्यक्रम ल्याएकामा खुशी व्यक्त गरे। केही दिनभित्रमा गाउँपालिकासँग सम्झौता गरेर सबै श्रमिक सदस्य कार्यस्थलमा खटिने उनको भनाइ छ । गाउँपालिकाका पाँचवटै वडाका युवा जनशक्ति श्रम रोजगार बैङ्कमा आबद्ध भएका छन् । युवाको आवेदन र वडा कार्यालयको सिफारिसका आधारमा गाउँ कार्यपालिकाले रोजगार बैङ्कमा आबद्ध हुने श्रमिकको छनौट गरेको थियो ।

१८ देखि ४० वर्ष उमेर समूहका युवाका अतिरिक्त प्राविधिक सीपमा दखल राख्ने ६० वर्षसम्मका व्यक्तिहरुलाई समेत आवश्यकताका आधारमा श्रम रोजगार बैङ्कमा आबद्ध गरिने गाउँपालिकाले जनाएको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  पौडेलले श्रमिकको सम्मान र सुरक्षाका लागि ताराखोला गाउँपालिकाले देशमै नमुना कार्यक्रम सुरु गरेको बताए । गाउँमै रोजगारी सिर्जनाका साथै गुणस्तरीय पूर्वाधार विकासमा श्रम रोजगार बैङ्क कोशेढुङ्गा बन्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता