पढ्न करिब 1 मिनेट लाग्छ

मंसिर ३०, पर्सा । वीरगन्ज– पथलैया सडक खण्डको परवानीपुरमा आज दिउँसो एलपी ग्यास ट्याङ्करले ठक्कर दिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।

पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको एनएल ०१ एल ७३१६ नं को ट्याङ्करले परवानीपुरको ज्योतिस्पेनिङ मिल नजिकै ठक्कर दिँदा वीरगन्ज उपमहानगरपालिका– २४ लिपनिमाल निवासी बालक अरमन खतिवाडको मृत्यु भएको हो ।

हजुरआमा सुशीला खतिवडासँगै बाटो काट्ने क्रममा ग्यास ट्याङ्करले ठक्कर दिँदा अरमनको मृत्यु भएको परवानीपुरस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भिमसेन धामीले जानकारी दिनुभयो ।

सो घटनामा हजुरआमा सुशीला समेत गम्भीर घाइते भएपछि उपचारको लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएको उहाँले बताउनुभयो ।

घाइते सुशीलाको टाउको र खुट्टामा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई कारबाहीका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ । रासस