पढ्न करिब 2 मिनेट लाग्छ

फागुन ११, बैतडी । प्रकृतिको कुचिकारको रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुँदै गएका छन् ।

जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय बैतडीमा गिद्ध लोप हुँदै गएका हुन् । प्राय सिमलको रुखमा गुँड बनाउने गिद्धको लागि गुँड बनाउने ठुल्ठुला रुख नभएकाले लोप हुँदै गएका सामुदायिक वन उपभोक्ता महासङ्घ बैतडीका अध्यक्ष चक्रप्रसाद शर्माले बताए। उनले भने, “खेतबारीमा अन्न उत्पादन कम भएको भन्दै स्थानीयले भएका ठूला रुख काट्न थालेपछि गुँड बनाउने रुख घट्दै गएका हुन् ।”

नेपाल पन्छी संरक्षण सङ्घले बैतडीमा गत वर्ष १२ ओटा गुँड फेला परेको तथ्याङ्कले देखाएको छ। पछिल्लो समय गिद्ध संरक्षण नहुँदा घट्दै गएका छन् ।

गिद्ध संरक्षणका लागि कुनै पहल भएको छैन। सरकारी र स्थानीय तवरबाट पहल हुनसके लोप हुँदै गएका गिद्धको संरक्षण हुने अध्यक्ष शर्माको भनाई छ। गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक्का गरी नयाँ वृक्षरोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्ने उनले बताए । गिद्धको सुरक्षित वासस्थल मानिने अग्ला सिमलका रुखहरु काटिनुले गिद्ध लोप हुने अवस्थामा पुगेको हो ।

पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिले पनि गिद्धहरु लोप हुन थालेको जानकार बताउँछन्। पशुको जीउ दुख्ने र ज्वरो आउँदा प्रयोग हुने यो औषधि प्रयोगले गिद्धको विनासमा ठूलो भूमिका खेलेको चिकित्सकहरु बताउँछन्। डाइक्लोफेनक औषधि प्रयोग भएको पशुको सिनो खाने गिद्धको मिर्गौला खराब भई मृत्यु हुने गरेको पशु चिकित्सकको भनाई रहेको छ।

स्थानीय किसानले पनि मरेको पशुको सिनो व्यवस्थापन गर्ने गर्दा भैँसी मरे मासु खाने अन्य गाईगोरु मर्दा खाडल खनेर पुर्न थालेपछि गिद्धले आहारा नपाएकाले घट्दै गएको जिल्ला पशु सेवा कार्यालय बैतडीका प्रमुख डा नवीन घिमिरेले बताए ।

“गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ,” उनले भने।

अहिले विश्वभर २३ प्रजातीका गिद्ध पाइन्छन्। त्यसमध्ये दक्षिण एसियामा ९ र नेपालमा ८ प्रजातीका गिद्ध पाइन्छन्। नेपालमा पाइने ८ प्रजातीका गिद्धमा सानो खैरो, डंगर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन् ।

जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय लोप हुँदै गएका गिद्धको संरक्षण गर्न जरुरी देखिएको छ । रासस