बुटवल । रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कुलको बसमा आगलागी भएको छ ।
शुद्धोधन गाउँपालिका-४ मा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको बसमा एक्कासी आगो लागेको हो । बसमा करिब ४० जना विद्यार्थी रहेका थिए । उक्त बसमा रहेका विद्यार्थीहरु भने सकुशल रहेका छन् ।
आगो लागेलगत्तै उनीहरुलाई चालक र सहचालकले बसबाट बाहिर निकालेर मानवीय क्षति हुन नदिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।
‘घर-घरबाट विद्यार्थी चढाएर विद्यालय नजिक पुगेको बसमा अचानक धुवाँ सहित आगो लागेको थियो, लगत्तै चालक, सहचालक र स्थानीयले विद्यार्थीलाई बस बाहिर निकालेर मानवीय क्षति हुनबाट रोके’, ।
बसको यान्त्रिक खराबीका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले जानकारी दिए ।
बसमा लागेको आगो दमकलले निभाएको थियो । आगलागीबाट विद्यालयको लु१क १३२६ नम्बरको बस भने पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ ।