पढ्न करिब 2 मिनेट लाग्छ

भदौ २३, गुल्मी । गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ ।

मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयका करिब आधा विद्यार्थी भाइरल ज्वरोले बिरामी भएपछि बुधबार र बिहीबार अर्थात् हिजोसम्म दुई दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षक सुनिल भण्डारीले जानकारी दिनुभयो ।

विद्यार्थीमा शुरुमा टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने लगायतका समस्या देखापरेको बताइएको छ ।

एकहजार पाँचसयको स्वास्थ्य परीक्षण

यसैबीच, गुल्मीमा सञ्चालन भएको तीनदिने स्वास्थ्य शिविर अन्तर्गतको दोस्रो दिनसम्म झण्डै एक हजार ५०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

मुसिकोट नगरपालिकाको महेन्द्र आदर्श माध्यमिक विद्यालयमा गत बुधबारदेखि तीनदिने निःशुल्क स्वास्थ्य शिविरको दोस्रो दिन हिजोसम्म एक हजार ४४६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए जसअन्तर्गत पुरुषतर्फ ५९७ र बाँकी महिलाले स्वास्थ्य परीक्षण र उपचार गराई औषधिसमेत लिएका छन् ।

साथै शिविरको दोस्रो दिनसम्म ४४ जना आँखाका बिरामीको मोतिया विन्दुको शल्यक्रिया गरिएको थियो । आज ५५ जना आँखाका बिरामीलाई मोतियाविन्दुको शल्यक्रिया गरिने शिविरका व्यवस्थापक नवीन कक्षपतिले जानकारी दिनुभयो ।

ब्रिटिश गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुरी एग्रिकल्चर एड एसोसिएसन केएएएको संयुक्त आयोजनामा भदौ २१ देखि २३ गते अर्थात् आजसम्म शिविर सञ्चालन हुनेछ ।

शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले बिरामीका लागि फरक–फरक ठाउँमा स्वास्थ्य परीक्षण तथा उपचार सञ्चालन गरिएको छ । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, आँखाको मोतियाविन्दुको शल्यक्रिया, दन्तरोग तथा सामान्य स्त्रीसम्बन्धी रोगको परीक्षण गरिएको व्यवस्थापक कक्षपतिले जानकारी दिनुभयो । रासस