माघ २२, राजविराज | सरकारी उदासिनताका कारण वर्षौंदेखि जीर्ण रहेको सप्तरीको अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गइरहेको छ ।

सो सडकखण्डमा निर्माण कार्य भइरहेको अधिकांश पुलसमेत तोकिएको समयमा निर्माण कार्य हुन नसकेकाले पनि यहाँका जनता समस्यामा परेको छ । जिल्लाको दक्षिण र पश्चिम भेगकामा रहेका हुलाकी सडक नबन्दा र हुलाकी सडकको पुलसमेत नबनेका कारण सप्तरीको सदरमुकाम राजविराजदेखि सिरहा रोडको हुलाकी सडकमा हिँड्ने हजारौँ स्थानीयवासीलाई दिनहुँ आवतजावतमा समस्या खेप्नु परिरहेको मलेकपुरका वीरेन्द्र यादवले गुनासो गर्नुभयो ।

मुलुककै पुरानो हुलाकी सडकलगायत ग्रामीण भेगका सडकको अवस्था दिनदिनै दयनीय बन्दै गएपछि सडकमा हिँड्ने सर्वसाधारण जनता धुलो माटोमा हिँड्नसमेत बाध्य रहेको यादवले बताउनुभयो ।

योसँगै हुलाकी सडकअन्तर्गत सप्तरीको पथरगडा र मुतनी खोलामा निर्माण भइरहेका पुलसमेत अझै सुस्तगतिमा निर्माण कार्य भइरहेको हुदासमेत आवतजावतमा समस्या भइरहेको स्थानीय भूपेन्द्र मण्डलले बताउनुभयो ।

हुलाकी सडकखण्डअन्तर्गत रहेको मलेकपुर र पत्थरगाडाबीचमा अवस्थित मुतनी नदीमा पुल निर्माणको कार्य सुस्तगतिमा भइरहेकाले यहाँका सर्वसाधारणलाई समस्या परेको छ ।

हुलाकी राजमार्गको मुतनी खोलामा रु चार करोड ७७ लाख ३६ हजार ९४५ मा र हुलाकी सडककै कजरहा खोलामा रु दुई करोड ४४ लाख ६०० हजार ४८ को सम्झौता भएअनुसार निर्माण कार्य भइरहेको निर्माणस्थलमा राखिएको बोर्डमा उल्लेख छ ।

जीर्ण सडक र अधुरो पुलका कारणले जिल्लाको पश्चिमी र दक्षिणी भेगका ग्रामीण क्षेत्रबाट सदरमुकाम राजविराजसम्म पैदलयात्रा गर्नेदेखि लिएर साइकल, मोटरसाइकललगायत अन्य सवारीसाधन आवगमन गर्ने निकै समस्या खेप्नु परिरहेको अर्का सर्वसाधारण शिवचरण यादवले बताउनुभयो । रासस

Related News