2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा एकै घरका ४ जना दृष्टिविहीन, कहाँ जाला यिनको भविष्य

कविता उपाध्याय/चैत ४, रोल्पा | कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ । 

ऊसँग संसार हेर्ने दृष्टि छैन तर पनि ऊ ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेको छ । फरक यत्ति हो कि बाहिरी आँखाले भन्दा ज्ञानको आँखाले संसार हेर्न निकै संघर्ष गर्नुपर्छ । त्यो पनि दृष्टि नै नभएकालाई अझ धेरै चुनौती छ, समस्या छ । 

रोल्पामा एकै घरका दुई दाजुभाइ तथा एकै घरका दुई दिदीबहिनी दृष्टिविहीन छन् । उनीहरु चारैजनाका लागि बाहिरी संसार रातदिन अँध्यारो छ तर उनीहरु ज्ञानको आँखाले संसार उजिल्याउन चाहन्छन् । 

बालकल्याण नमूना उच्च माध्यमिक विद्यालय, लिबाङमा अध्ययनरत यी बालबालिकाले भविष्यको लक्ष्य निर्धारण गरेर अघि बढिरहेका छन् । तर यिनीहरुको आर्थिक अवस्था एकदमै न्यून छ जसका कारण शिक्षाको उज्यालोबाट संसार हेर्न निकै संघर्षका साथ अघि बढिरहनु परेको छ यिनीहरुलाई । 

माडी गाउँपालिका–३ तालाबाङ रोल्पाका १९ वर्षीय शिशिर डाँगी र १६ वर्षीय लोकेश डाँगी सहोदर दाजुभाइ हुन् । यी दुवै दाजुभाइ जन्मजात दृष्टिविहीन छन् । यिनीहरुका लागि के दिन के रात ? सधैँ संसार अँध्यारो छ । शिशिर र लोकेश कक्षा ९ मा अध्ययनरत छन् । उनीहरु अन्य सहपाठीसरह पढ्न लेख्न सक्दैनन् । 

ब्रेल लिपीको माध्यमबाट संसार चिहाउने प्रयत्नमा लागेका यी दाजुभाइलाई अन्य बालबालिकाले भन्दा बढी संघर्ष गरिरहनु परेको छ । घरको आर्थिक अवस्था एकदमै न्यून भएका कारण उनीहरुको पठनपाठनमा थप चुनौती छन् । तर पनि आँट र साहसका साथ यिनीहरुको जीवनयात्रा अघि बढिराखेको छ । 

यिनीहरु दुवै दाजुभाइ हातले छामेर भित्रबाहिर गर्छन् । अलि टाढाको यात्रामा साथीहरुको सहयोग चाहिए पनि नियमित गतिविधिमा भने आफैँले छामेर र वा घुँडा टेकेर गुजारा गर्ने गरेका छन् । विद्यालयका गुरुगुरुआमा, सहपाठी साथी तथा छात्रवासका आयाको साथ पाएका कारण उनीहरु उच्च मनोबलका साथ अघि बढिरहेको बताए । सामान्य चोटपटक दिनहुँजसो लागिरहे पनि यी दुवैले ठूलो दुर्घटना पार गरेर नयाँ जीवन पाएका छन् । 

शिशिर सानोछँदा घरको बार्दलीबाट भुइँतलामा बजारिएर उनको टाउको फुट्यो, उनी बेहोस भए । त्यस्तै, लोकेश पनि सानो छँदा बेसरी भुइँमा बजारिँदा लडेर हात भाँचिएको थियो । 

जीवनमा आउने अनेकन समस्या तथा चुनौतीबाट अविचलित रुपमा अघि बढेका शिशिर पढेर कुशल राजनीतिज्ञ बन्न चाहन्छन् । नीति निर्माण तहमा पुगेर दृष्टिविहीनका लागि नयाँ नीति निर्माण गरी कार्यान्वयन गर्ने यिनको धोको छ । त्यस्तै, लोकेश पढेर दृष्टिविहीनकै कुशल शिक्षक बनेर ज्ञानको उज्यालो बाँड्न चाहन्छन् । उनलाई संगीत क्षेत्रमा पनि उत्तिकै लगाव छ । उनी हार्माेनियम, मादल, बाँसुरी ब्यान्डबाजा बजाउन सिपालु छन् जस्का कारण विद्यालयले हरेक दिनजसो प्रार्थनाका समयमा उनलाई नै अघि सार्दै आएको छ । 

तल्ला कक्षाहरुमा प्रथम द्धितीय स्थान हासिल गर्न सफल भए पनि माथिल्ला कक्षामा भने ब्रेललिपीको माध्यमबाट पढ्दा यी दाजुभाइलाई समस्या हुने गरेको छ । उनीहरुका अनुसार ब्रेललिपीको माध्यमबाट पढ्दा अंग्रेजी, गणितको ज्यामिती, सामाजिक तथा भूगोलमा नक्सा बनाउन असहज हुन्छ । 

उनीहरुका जेठा दाजु आर्थिक अभावका कारण रोजीरोटीका लागि एसएलसी उत्तीर्ण गरेर खाडीमुलुक पुगेका छन् । आफूहरुको पनि गरिबीका कारण उच्च शिक्षामा अवरोध हुन्छ कि भन्ने चिन्ताले उनीहरुलाई थप चिन्तित बनाउन थालेको छ । 

यस्तै, विमला विक र लक्ष्मी विक एउटै आमाका सन्तान हुन् । उनीहरु पनि जन्मजात दृष्टिविहीन छन् । दलित समुदायका यी चेली हरेक कुरामा पछाडि पारिएका छन् । त्यसमा पनि दृष्टिविहीन भएर जीवन जीउनु पर्दा यिनीहरुलाई थप संघर्ष गर्नुपरेको छ । 

उनीहरुका लागि पनि रातदिन बराबार अँध्यारो छ । २० वर्षीया विमला कक्षा १२ मा अध्ययनरत छिन् । उनी नौ महिनाकी हुँदा विमलाकी आमाले बाध्यतावस दोस्रो बिहे गरिन् जसका कारण विमलाले जन्म दिएका बाबुको माया पाउन सकिनन् । तर पनि सौतेलो बुबाले उनको संसार हेर्ने सपनामा साथ दिँदै आएका छन् । 

विमला राम्रो गायक तथा कुशल कार्यक्रम प्रस्तोता बन्न चाहन्छिन् । दृष्टिविहीनका आवाज कसैले नसुन्ने भएका कारण आरजे बनेर दृष्टिविहीनका आवाज बाहिर ल्याउने उनको धोको छ । 

यस्तै, उनकी ११ वर्षीया बहिनी लक्ष्मी हाल कक्षा ४ मा अध्ययनरत छिन् । उनलाई आँखा पाएको भए बाहिरी संसार पनि देख्नेथिएँ जस्तो लाग्छ । 

दृष्टिविहीनको सेवामा संलग्न आयाका अनुसार उहाँले हेर्दैआएको छात्रावासमा १२ जना दृष्टिविहीन विद्यार्थी बसेर अध्ययन गर्दै आएका छन् । उनीहरुको स्याहारसुसार गर्न पाउँदा उहाँलाई निकै खुशी लाग्छ । काम गर्दै जाँदा यी बालबालिका आफ्नै छोराछोरीसरह लाग्न थालेको उहाँको भनाइ छ । 

विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलका अनुसार तारा मावि, बामरुक, रोल्पाको व्यवस्थापन समितिले विशेष कक्षा आफ्नो विद्यालयमा आवश्यकता नभएको भनेर स्रोत कक्षा सञ्चालन नगर्ने निर्णय गरेपछि यी अलपत्र विद्यार्थीलाई करिब दुई वर्ष पहिलेदेखि बालकल्याण उमाविमा ल्याइएको हो जसका कारण सम्पूर्णरुपमा भौतिक संरचना अपांगमैत्री बन्न सकिरहेका छैनन् । यिनीहरुका लागि शैक्षिक सामग्री विद्यालय तथा संघसंस्थाले उपलब्ध गराउँदै आएको भए पनि पर्याप्त हुन सकिरहेको छैन । 

हाल १२ कक्षामा तीनजना दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । १२ उत्तीर्ण हुने विद्यार्थीलाई जिल्ला बाहिरका सुविधासम्पन्न विद्यालयमा पठाउन सके उनीहरुलाई पठनपाठनमा थप सहयोग मिल्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ