पढ्न करिब 2 मिनेट लाग्छ

वैशाख १२ बाँके | हत्याको एक अभियुक्तलाई जिल्ला अदालत बाँकेले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ ।

तीन वर्षअघि नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै नेपालगन्जका रिगल ढकाललाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले मंगलबार सो घटनामा दोषी ठहर भएका अन्य १३ जनामध्ये ४ जनालाई जन्मकैद र बाँकी ९ जनालाई तीन वर्षदेखि दश वर्षसम्मको सजाय तोकिएको छ भने एक जनालाई सफाइ दिएको छ ।

जन्मकैदको सजाय पाउनेमा प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्का रहेका छन् भने सोहनसिंह ढकाललाई दश वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत बाँकेले जनाएको छ ।

यसैगरी माधव नेपाली, विराज पाठक, हरि ओली, मनिष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढामगर र केशवबहादुर रोकायालाई तीन वर्ष तथा दीपेन्द्रसिंह भन्ने दीपेन्द्र मल्ललाई ५ वर्षको कैद सजाय तोकिएको छ ।

दीपक केसीले भने सफाइ पाएको जिल्ला अदालत बाँकेका स्रेस्तेदार दण्डपानी लामिछानेले बताउनुभयो ।

नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझीचौकमा नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ साल असार २८ गते खुँडा प्रहार गरी हत्या गरिएको थियो ।

सो घटनामा संलग्न सो क्षेत्रका चर्चित गुण्डा नाइके रिगल भनिने योग ढकालले दुई वर्षअघि नै अदालतमा आत्मसमर्पण गरेका थिए । घटनाको आइतबारदेखि बहस शुरु भएको हो । हत्याका मुख्य अभियुक्त रिगल ढकालसहित १५ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको थियो । रासस