पढ्न करिब 2 मिनेट लाग्छ

भदौ २१, बाँके । बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीकी २६ वर्षीया अन्नु बर्माको मृत्यु रहस्यमय बन्दै गएको छ । बर्माको एक साताअघि घर नजिकैको नालीमा शव भेटिएको थियो । दाइजोका विषयमा घरायसी विवाद बढेपछि सासू, देवर र अर्का एकजना छिमेकी मिलेर हत्या गरेको माइती पक्षको आरोप छ ।

माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासू धनदेही कुर्मी, देवर वीरेन्द्रकुमार बर्मा र छिमेकी हरिहरप्रसाद तेलीको नाममा किटानी जाहेरीसमेत दिएका छन् ।

मृतकको नालीमा डुबेर मृत्यु भएको भनिए पनि शरीरका विभिन्न भागमा गहिरो चोट लागेकोले हत्या नै भएको माइती पक्षको दाबी छ । मृतककी भाउजू विन्दुकुमारी बर्माले भन्नुभयो, “शरीरमा हिलो पनि लागेको छैन, घरभित्र रगत लत्पतिएको छ ।

टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रयोग गरेको स्पष्ट देखिन्छ । यसलाई सामान्यरुपमा मृत्यु भएको कसरी भन्न मिल्छ ?”

दाइजो नल्याएको भन्दै पटक पटक विवाद भइरहने गरेको भए पनि १५ दिनअघि सासू र छिमेकी हरिहरप्रसाद तेलीलाई रातिको समयमा सँगै सुतेको देखेपछि विवाद बढेको भन्दै मृतक बर्माले माइती पक्षलाई समेत जानकारी गराएको भाउजू विन्दुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दाइजोका विषयमा त सधैँ घरायसी झगडा भइरहन्थ्यो, विगत केही महिनादेखि मृतककी सासू र छिमेकी हरिहरप्रसादसँगै सुतेको भेटेपछि विवाद बढ्यो ।

गाउँमा हल्ला फैलिन्छ भन्ने डरले हत्या गरिएको हाम्रो दाबी छ ।” श्रीमती अन्नुको मृत्यु भएपछि दुबईबाट घर फर्किएका श्रीमान्ले आफ्नी आमाको बचाउ गर्दै हत्यामा संलग्न नभएको दाबी गरिरहेका छन् ।

छिमेकी रामबाबु बर्माले घरभित्र हत्या गरी नालीमा फालिएको दाबी गर्नुभयो । “नालीमा डुबेर मृत्यु भएको भए घरभित्र रगतका टाटाहरु किन देखिए ? प्रहरीले किन घरभित्र खानतलासी नगरेरै घरटनास्थलको मात्रै मुचुल्का लियो ?”

पत्रकारहरुसँग प्रश्न गर्दै बर्माले भन्नुभयो, “नालीमै डुबेको भए पनि शरीरमा हिलो वा फोहर त हुनुपथ्र्यो ?” मृतक अन्नुको शरीरमा हिलोसमेत नलागेकाले हत्या नै भएको बर्माको दाबी छ ।

उहाँले भन्नुभयो, “नालीमा डुबेकी अन्नुको टाउकोमा धारिलो हतियार प्रयोग गरिएजस्तो गहिरो चोट लागेको छ । शरीरभर नीलडाम छ, विभिन्न भागमा घाउ लागेका छन्, यो हत्या नै हो, सूक्ष्म अनुसन्धान होस् ।”

माइती पक्षको किटानीका आधारमा प्रहरीले सासू, देवर र छिमेकी हरिहरप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले भने यस विषयमा अनुसन्धान भइरहेकोले सबै कुरा भन्न नमिल्ने बताउनुभयो । उहाँले अनुसन्धानका क्रममा पीडक र अन्य छिमेकीको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।