भरत केसी, असोज ५, बुटवल । बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चारसय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ ।

तीन महीने सीप सकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारी दिने गरी यस्तो तालीम शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

युवालाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणको मर्मत गर्नेबारे तालीम दिइने छ । यो कामका लागि पहिलो चरणमा २५ युवा छनोट भएका छन् । उनीहरूले यो चरणमा उजिरसिंह नगरको अटो भिलेजमा तीन महिना सिक्नेछन् ।

अटो मेकानिक्सको आधारभूत तालीमका लागि २० युवा छनोट भएका छन् । आधारभूतसहित हेभी साधान बनाउने तालीमले उनीहरूलाई पनि दक्षता र रुचिका आधारमा उपल्लो तहको तालीम दिने गरी तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

जनरल मेकानिक्समा २२, विल्डिङ सोलार इलेक्ट्रिकल तालीमका लागि ३५, होटल म्यानेजमेन्टअन्तर्गतको कुक तालीमका लागि ८३, एसी, रेफ्रिजरेटर मर्मतका लागि ५४ तथा पलम्बिङका लागि २० र फेशन डिजाइनरका लागि १०७ जना यो चरणमा छनोट भएका छन् ।

शुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमूना कार्यक्रम मानिएको छ । तालिमको बिहीबार शुभारम्भ गर्दै नगर प्रमुख सुवेदीले युवालाई सक्षम बनाए मात्रै समृद्ध बुटवलको अभियान पूरा हुने बताउनुभयो ।

सोही अभियान स्वरूप पहिलो चरणको प्राविधिक तालीम शुरु गरिएको उहाँले बताउनुभयो । बुटवलको समृद्धिका लागि बुटवलवासीकै योगदान र सहकार्य भन्ने मान्यताका साथ आफूहरूलाई तालीम प्रदायक र रोजगारदाताले समेत सहकार्य गर्न आएको सुवेदीको भनाइ छ ।

अभियानमा सहकार्य गर्ने दक्ष जनशक्ति उत्पादनलाई ध्यानमा राखेर यस्तो अभियान शुरु गरिएको उहाँले बताउनुभयो । यो अभियानमा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रले उपमहानगरसँग सहकार्य गरेका छन् । तालीम लिन इच्छुकको विषय छानेर तिनै तालीम प्रदायककोमा पठाइनेछ । यस्तो तालीम कम्तीमा तीन महिनाको हुनेछ ।

सो अवसरमा उपप्रमुख गुमादेवी आचार्यले महिला र पुरुष दुवैको हाराहारी सङ्ख्यामा सहभागीहरू छनौट हुनु अर्को महत्वपूर्ण पाटो रहेको भन्दै समृद्ध, सभ्य र समावेशी बुटवल निर्माणको एउटा चरण नै यहीँ रहेको बताउनुभयो ।

विभिन्न विषयमा समूह छुट्याएर तालीम दिन लागिएको बुटवलका सामाजिक शाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताउनुभयो । हेवी मेसिन मर्मतदेखि फेसन डिजाइनसम्मका कामबारे विशेष तालीम दिइने अधिकृत दामोदर ज्ञवालीले बताउनुभयो । (रासस)