प्रेम सुनुवार | असोज ९, बुटवल | पछिल्लो समय आपराधिक समूहको हतियार बनेको एसिड प्रकरण नवलपरासीमा पनि दोहोरिएको छ ।

एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि नवलपरासीमा एक युवाले ती महिलाको मुहारमा एसिड छर्केका छन् । त्यतिले पनि नपुगेर उनले महिलालाई छुरा समेत प्रहार गरेका छन् ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका हरबासी टोलका ३६ बर्षीय विमल श्रीपालीले सोही छिमेकी ३० बर्षीया बसन्ती परियारलाई गएराती एसिड छर्कनुका साथै छुरा प्रहार गरेका हुन ।

स्थानीयका अनुसार श्रीपालीले परियारसँग एकतर्फी प्रेम गर्थे । उनले केहि दिन अघिबाट उनीसँग विवाह गर्ने प्रस्ताव नै राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी रमेश थापाले घटनाको पुष्टि गर्दै भने–‘ घटना गएरातिको हो । युवाले पहिलेदेखि महिलालाई विवाह प्रस्ताव गर्दै आएको बुझिएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान सुरु भैसकेको छ ।’

एसिड छर्किदा महिलाको २५ प्रतिशत शरीर जलेको छ ।

प्रहरीका अनुसार पीडितको भरतपुरमा उपचार भइरहेको छ भने अभियुक्त श्रीपाल प्रहरी नियन्त्रणमा छन् । घटनापछि कावासोतीवासी त्रसित छन् ।

महिलाको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । अस्पतालका वरिष्ठ सर्जन डा सुरेस प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो ।

प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ ।

चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुबै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ ।

उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अवस्था गम्भीर रहेको प्रधानले बताए ।

Related News