Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बढ्दो शिकारका कारण मासिँदै कालिज

२०७५, ४ पुष बुधबार १०:१३

तारानाथ आचार्य | पुस ४, बलेवा (रासस) |  यतिबेला बागलुङका वनहरुमा साँझको समयमा शिकारीको लर्को देखिन्छ । घाम डुबेर गोधूलि साँझ शुरु भएसँगै शिकारीहरु वनको आसपासमा पुग्ने गर्छन् । घाम अस्ताएपछि बासस्थानको खोजीमा रहेको कालिजलाई पछ्याउँदै उसको बाससम्म पुग्ने शिकारीहरु देखिन थालेका छन् । विशेष गरेर बस्ती नजीकैका वनहरुमा पाइने कालिजको शिकार गर्ने क्रम बढेको हो । 

बास बस्ने समयमा चारो खोज्दै बाहिर निस्केका कालिजलाई पछ्याउँदै जाने र बास बसेको ठाउँमा पुगेर रात परेपछि शिकार गर्नेहरु देखिन थालेको बागलुङको मालिकाका टेक बहादुर कामीले बताए । बस्ती नजीकैका सामुदायिक वन र निजी वनहरुमा रहेका कालिजहरु मार्ने क्रम बढ्दै गएको छ । “पहिले पहिले हाम्रै आँगनमा कालिज खेल्थे,” कामीले भने – “आजभोलि छिटफुट बाहेक कालिजको बथान देख्न छोडिएको छ ।” शिकारीहरुले घरेलु हतियार र गुलेलीको प्रयोग गरेर कालिज मार्ने गरेका छन् । सामुदायिक वन तथा स्थानीय सरकारले कालिजको संरक्षणमा ध्यान नदिएका कारण कालिज लोप हुने अवस्थामा पुगेको विज्ञहरु बताउँछन् । लोपोन्मुख पन्छी भएकाले कालिज संरक्षणको अभियान थाल्नुपर्ने कामीले बताए । साँझपख मोटरसाइकलमा आउने शिकारीहरु कहाँबाट आउँछन् र शिकार गरेर कता जान्छन् भन्ने विषयमा कसैले चासो राखेका छैनन् । 

मालिकाका टेकबहादुरलाई जस्तै जैमिनी नगरपालिका–१ कुश्मीशेराका भीमप्रसाद आचार्यलाई पनि कालिज हराउँदै गएकामा चिन्ता छ । नजीकै रहेका सामुदायिक वनहरुबाट आफ्नो खेतमा चर्न आउने गरेका कालिज आजभोलि निकै कम देखिन थालेको आचार्यको अनुभव छ । “हिउँद लागेपछि खाली भएको खेतभरि कालिज देखिन्थ्यो, आजभोलि एकाध मात्रै देख्न पाइन्छ,” आचार्यले भने – “साँझपख वन छेउछाउमा शिकारी देखिन थाले तर, कालिज हराउँदै गए ।” बथानमा देखिने कालिज एक–दुई वटा पनि देखिन मुश्किल हुँदै गएको छ । 

कालिज मानिसहरुले मासु खानकै लागि प्रयोग गर्ने गरेका छन् । यसको विशेष महत्व नरहेको भए पनि मासुको प्रयोगका लागि मानिसहरुले कालिजको शिकार गर्ने गरेको डिभिजन वन कार्यालय बागलुङका सहायक वन अधिकृत सूर्य देवकोटाले बताए । कालिजको बासस्थान कैयौं दिनसम्म एकै ठाउँमा हुने भएकाले शिकारीहरुलाई सहज हुन्छ । “कालिज सोझो खालको पन्छी हो, रातको समयमा उसको बस्ने ठाउँ एउटै हुन्छ,” देवकोटाले भने – “‘उसको दिसाबाट बस्ने ठाउँ पहिचान गर्न सकिने भएकाले शिकार बढेको हो ।” बिना अनुमति वन्यजन्तु तथा पन्छीहरुको शिकार दण्डनीय अपराध भए पनि वन कार्यालयमा भने कुनै उजूरी परेका छैनन् । वन कार्यालयले पशुपन्छीको शिकार भैरहेको क्षेत्रमा गस्ती गरेर नियन्त्रण तथा संरक्षण गर्ने गरेको छ । 

“हामीकहाँ उजूरी आए हामीले तत्कालै गस्ती बढाउँछौं,” देवकोटाले भने – ‘बिना जानकारी कसैको पछि लाग्न मिलेन ।” चेतनाको अभावमा पन्छीहरुको शिकार बढेको देवकोटाको भनाइ छ । सर्वसाधारणले आफ्नो सम्पत्तिको रुपमा कालिजको संरक्षण गर्नुपर्ने देवकोटाको सुझाव छ । कालिजको शिकार गरेको भेटेमा तत्काल डिभिजन वन कार्यालय वा नजीकको सव–डिभिजन कार्यालयमा जानकारी दिन पनि उनले आग्रह गरे । 

संरक्षित पन्छीको सूचीमा नरहेको भए पनि कालिज लोपोन्मुख पन्छी हो । कालिजको चोरी शिकारी गर्न प्रतिबन्ध लगाइएको भए पनि लुकिछिपी शिकार गर्ने क्रम बढ्दै गएको छ । जिल्लाको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालगायतका वन क्षेत्रमा पनि लुकिछिपी कालिजको शिकार हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । “वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने कालिजको शिकार नियन्त्रण गर्न वन कार्यालयले नै ध्यान दिन जरुरी छ,” जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले भने – “‘हाम्रो नगरमा पनि कालिजको शिकार हुने गरेको भन्ने सुनेको छु । यसलाई नियन्त्रण गर्न जरुरी छ ।” 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले पन्छीहरुको चोरी शिकारीलाई दण्डनीय अपराध भनेको छ । ऐनअनुसार बिना अनुमति पन्छीहरुको चोरी शिकारी गरेको ठहरिएमा १ वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण रुपाखेतीले भने – “नेपालमा एक मात्रै शिकार आरक्ष छ । त्यहाँ मात्रै अनुमति लिएर शिकार गर्न पाइन्छ । अन्य जुनकुनै वन क्षेत्रमा शिकार गर्नु दण्डनीय अपराध हो ।” बागलुङका वन क्षेत्रमा कालिजको सङ्ख्या कति छ भन्ने विषयमा भने डिभिजन वन कार्यालयसँग तथ्याङ्क छैन । 

कालिज नेपालमा पाइने एक जङ्गली चरा हो । यो चरा कुखुरा जस्तै हुने भएकाले यसलाई ‘वन कुखुरा’ अथवा ‘वन मुर्गी’ पनि भन्ने गरेको पाइन्छ । कालिज प्रायः पहाडी क्षेत्रको जङ्गलमा पाइन्छ । शिकारीहरूले कालिजको शिकार धेरै गर्न थालेपछि यो चरा लोप हुने अवस्थामा पुगेको छ । कालिजका पनि कुखुरा जस्तै ठूलो समूहमा चल्लाहरू हुन्छन् । वैशाख र जेठमा कालिजले चल्ला निकाल्ने वन विज्ञहरु बताउँछन् । मङ्सिर र पुसमा चल्लाहरू एक समूहमा बस्ने र फागुन लागेपछि भाले पोथीको अलग अलग जोडी बनाएर छुट्टिने स्वभाव हुने सहायक वन अधिकृत देवकोटाले बताए । जङ्गली जडीबुटी चरेको र मासुमा स्वाद हुने मान्यताका आधारमा एक किलोग्राम कालिजको मासु २ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ