पढ्न करिब 5 मिनेट लाग्छ

विमलबहादुर विष्ट, चैत २६, डोटी । दीपायल सिलगढी नगरपालिका वडा नं ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नं ९ सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ ।

थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले कार्यक्षेत्र बनाएर लगानी गरे पनि त्यो ठाउँको अपेक्षित विकास हुन सकेको छैन । साविकको कलेना गाविसका रुपमा रहेको त्यो क्षेत्र मुख्यतया मदिराले मस्त रहने क्षेत्र हो । तुलनात्मक रुपमा पछिल्लो समयमा केही सुधार देखापरे पनि त्यो सन्तोषजनक छैन । घरमा भैंसी पाल्ने, दूध, दही, घीउ र बारीमा फलेको साग सिलगढी लगेर बेच्ने, अनि रक्सी किनेर पैसा उडाउने कलेनाका अधिकाँश पुरुषको नियति नै भएको छ । दूध, दही, घीउ, सागपात बेच्न घरका महिलाहरु बजारमा जान्छन् तर, श्रीमान्का लागि रक्सी किनेर लगिदिनुपर्ने बाध्यता छ उनीहरुलाई ।

गाउँमा पनि लुकिछिपि रक्सी बेच्नेको कमी छैन । कोही कोही मानिस त बिहान चिया खाने समयमै रक्सी पिउने गरेको अहिले पनि भेट्न सकिन्छ । तर आजभोलि केहीको दैनिकी फेरिएको छ । कलेनास्थित गुणे गाउँका ४५ वर्षीय बाजी साउदको दैनिकी फेरिएको छ । बा¥ह वर्षकै उमेरमा बुबा गुमाएका र झण्डै २१ वर्ष पहिले आमा गुमाएका साउदलाई सानै उमेरदेखि नै घरपरिवार सम्हाल्ने जिम्मेवारी आइप¥यो । उहाँले घरपरिवारको जीवन धान्न पुख्र्यौली पेशा कृषि बाहेक अरु केही गर्न सक्नुभएन ।

साउदले ठूलो लगानी गर्न सक्ने अवस्था नभए पनि सानोतिनो लगानीबाट तरकारीखेती, भैँसीपालन, बाख्रापालन शुरु गर्नुभयोे । बाजीको घरपरिवारमा उहाँकी श्रीमती देउसरासँगै चार छोरा, तीन बुहारी, दुई नाति र १ नातिनी छन् । बाजी र देउसरा आफ्नो पेशामा खुशीसाथ व्यस्त देखिनुहुन्छ । शुरुमा खानका लागि मात्रै तरकारी खेती गर्नुभएका उहाँले अहिले थुप्रै जग्गामा तरकारी खेती गरेर आयआर्जन गर्न थाल्नुभएको छ ।

उहाँले भन्नुभयो – “शुरुमा सानोतिनो रकम जुटाएर, तरकारीखेती गरें । त्यो राम्रो भएपछि अहिले व्यावसायिक रुपमा तरकारी खेती गर्दैछु ।” गाउँमै तरकारीखेती गर्ने उहाँ पहिलो व्यक्ति भएको उहाँ बताउनुहन्छ । अहिले उहाँले दीपायल सिलगढी नगरपालिका अन्तर्गत कृषि विकास शाखाको रु ४० हजार अनुदान सहयोगमा टमाटर खेतीका लागि फलामे खम्बासहितका २२ मिटर लामो र ५ मिटर चौडा रहेको पोली हाउस तयार गर्नुभएको छ ।

गाउँमा गरिबी निवारण कोष र फेकोफन डोटीको साझेदारीमा सिँचाइ सुविधा पनि पुगेको छ । अब तरकारीखेतीका लागि निकै सहजता भएको साउद बताउनुहुन्छ । अहिले उहाँको बारीमा बन्दा, प्याजलगायतका तरकारी पाइन्छन् भने बेमौसमी काँक्रा फुलेर फल लाग्ने तयारीमा छ । अब तरकारी खेतीलाई थप विस्तार गर्ने उहाँको योजना छ ।

साउदलाई तीन महिने अगुवा कृषक प्राविधिक तालीमसमेत दिइसकेको दीपायल सिलगढी नगरपालिकाका कृषि विकास शाखाका नायब प्राविधिक सहायक संगम साउदले बताउनुभयो । एक रोपनीभन्दा बढी खेतमा तरकारीखेती गर्ने कृषकहरुको बाली बीमा गर्ने प्रावधान अनुसार साउदको तरकारी बालीको बीमा पनि गरिने र निरन्तर प्राविधिक सहयोग गरिने नायब प्राविधिक सहायक साउदले बताउनुभयो ।

उहाँले दुई वटा भैँसी पनि पाल्नुभएको छ । दुवै भैँसी ब्याएका पनि छन् । गरिबी निवारण कोष र फेकोफन डोटीको साझेदारीमा ग्रामीण गरिबी न्यूनीकरण कार्यक्रम लागू भई त्यस गाउँमा तेडी सामुदायिक संस्था गठन भएको छ र त्यस संंस्थामा बाजीकी श्रीमती देउसरा पनि सदस्य बन्नुभएको छ ।

उहाँले त्यो संस्थाबाट विसं २०६५ वैशाखमा १८ हजार ऋण पाउनुभयो र एउटा भैँसी किन्नुभयो । त्यो भैँसी ब्याएपछि बाजी र देउसराको आम्दानीको बाटो खुल्यो । उहाँहरुले त्यो भैँसीको दूध, दही, घीउ बजारमा बेचेर आम्दानी गर्न शुुरु गर्नुभयो । चार बेतसम्म ब्याएको भैँसीका दुई वटा पाडा सानोमै बेचेर पनि करीब १५ हजार रुपैयाँ आम्दानी गर्नुभयो । एउटा पाडो सानोमै म¥यो र त्यसै भैँसीबाट जन्मेको एउटा पाडी अहिले ब्याउने भएको छ । उहाँले शुरुमा किनेको भैँसीसँग साटेर अर्काे भैँसी ल्याउनुभयो जुन भैँसीले करीब १९ महिना अघिदेखि दूध दिइरहेको छ । एक वर्षमा एउटा दुहिनो भैँसी र अर्काे ब्याउने भैँसी भएमा हरेक वर्ष दूध, दही, घीउ भइरहने भएकाले उहाँहरुले यस्तो योजना बनाउनुभएको हो । यस अतिरिक्त उहाँहरुले एक दर्जन बाख्रा पनि पाल्नुभएको छ । बाख्रा बेचेर घरखर्च चलाउन सहयोग पुगेको उहाँहरु बताउनुहुन्छ ।

बाजीले तरकारीखेती, भैँसी र बाख्रापालनबाटै गाउँमै ११ कोठाको तीन तले घर बनाउनुभएको छ । आफ्नो ४५ वर्षे उमेरसम्ममा दुई पटक नेपालगञ्ज उपचारमा गएको बाहेक अन्य कुनै ठाउँ नदेखेको बाजी बताउनुहुन्छ । बाजी भन्नुहुन्छ – “मैले जे गरेँ, घरमै कृषि पेशामै गरेँ । पैसा कमाउन अन्त धाउनै परेन । बिराम नि लागेन ।” पहिले करीव ५÷६ महिना मात्रै खान लाउन पुग्ने कलेनाका बाजीको मेहनत र लगनलाई अन्य नागरिकले पनि पछ्याएर व्यवसाय सञ्चालन गरे जीवनस्तर माथि उठ्ने सिलगढी ओम गेष्ट हाउसका सञ्चालक सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो– “परिश्रम र मेहनत गर्दा घरैमा पैसा आउँछ, अन्त धाउनु पर्दैन ।” कलेनामा व्यापक रुपमा मदिरा बिक्री वितरण हुन थालेपछि जिल्ला प्रहरी कार्यालय डोटीले सो क्षेत्रमा मदिरा बिक्री वितरणमा कडाइ गरेको छ । उक्त क्षेत्रमा बिना अनुमतिपत्र मदिरा बेच्नेहरुलाई प्रहरीले पक्राउ गरी धमाधम कार्वाही गर्न थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो – “हामीले जिल्लाका सबै ठाउँमा मदिरा बिक्री वितरणमा कडाइ गरेका छौँ तर, कलेनामा बिहानै रक्सी खाने बढेपछि त्यहाँ अलि बढी कडाइ गर्न बाध्य भएका हौँ ।”

प्रहरीका अनुसार उक्त क्षेत्रमा मदिराकै कारण अहिलेसम्म एक दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन् । प्रहरीले यहाँका गाउँ गाउँमा सामुदायिक प्रहरी सेवा गठन गरेर मदिरा सेवना लगायतका विसङ्गतिमा कमी ल्याए पनि कलेनामा खासै सुधार आउन नसकेको स्थानीयवासीको आरोप छ । यहाँका व्यापारीहरुको भनाइअनुसार डोटीमा विगतका वर्षदेखि ४० प्रतिशत खाद्यान्न तथा ६० प्रतिशत मदिरा बिक्री वितरण हुने गरेको छ । घरमा भएका कुखुरा, खसीबोका र अन्नपात बेचेर यहाँका स्थानीयवासीले मदिरा पिउने गरेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाउँदै आएको छ । मदिराका कारण डोटीमा हत्या, हिंसा, बलात्कार जस्ता आपराधिक घटनाहरु पटकपटक दोहारिइरहे पनि मदिरा बिक्री वितरण नियन्त्रणमा आउन सकेको छैन ।