2026-09-19 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

झरीमा तप्तप्, धुपमा हप्हप्, न गाँस न सुरक्षित बास

राजकुमार पराजुली, जेठ २२, काभ्रेपलाञ्चोक ।  आजकाल बेतालमा आउने हुरीबतास र पानीले चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ । जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि ! पानी पर्न थालेपछि भएभरका भाँडाकुँडा टहरोभित्रै थाप्नुपर्ने अर्को पीडा पनि त छ उहाँलाई । साथमा रहेका अबोध दुई छोरीलाई च्यापेर बस्नुपर्ने बाध्यताले कहाँ छोडेको छ र बनेपा नगरपालिका–७ झापालीटोलकी ४६ वर्षीया मानन्धरलाई ।

 जन्मजात शारीरिक अपाङ्गता र सुस्त मनिस्थितिकी १२ वर्षकी उनकी जेठी छोरी रमिलाको  गत आइतबार निधनले उहाँमा अर्को  पीडा थपिएको छ । रमिला राम्रोसँग हिँड्न र बोल्न सक्दिनथिन् । सोमबार उनलाई दागबत्ती दिएपछि चन्द्रमाया सोही टहरोमा किरिया बस्नुभएको छ । यसअघि उहाँ भूकम्पले भत्किएको भग्नावशेषमा आफ्नी अपाङ्गता भएकी छोरीलाई रुँदै खाना खुवाइरहेको अवस्थामा भेटिनुभएको थियो ।

बनेपा शहरको बीच भागमा वरिपरि अग्ला पक्की घरले घेरिएको तीनधारा गल्लीमा चन्द्रमायाको  असुरक्षित टहरो छ । कान्छी छोरी प्रमिला जन्मिनु तीन दिनअघिमात्रै पति रामभक्तको पनि मृत्यु भएकाले उहाँ बेसहारा हुनुभएको थियो ।

 अपाङ्गता भएकी छोरीलाई जसोतसो हुर्काइरहेकी चन्द्रमायालाई श्रीमान् बितेकै बखत सुत्केरी बन्नुपरेको बाध्यता र  बत्ती काटेर जसोतसो दुई छोरी हुर्काउँदै गर्दा २०७२ वैशाख १२ को भूकम्पले अर्को बज्रपात पा¥यो । हेर्दाहेर्दै उहाँकै  आँखा अगाडि तीनतले घर ढल्यो । रमिला र प्रमिलालाई च्यापेर घिस्रिँदै तीनवटा प्राण बचाउनु पर्दाको  घटना सम्झँदा चन्द्रमाया भक्कानिनुहुन्छ ।

“भूकम्पले त्यही सबैको प्राणपखेरु छिनाइदिएको भए यसरी दुःखमाथि दुःख त झेल्नु पर्दैनथ्यो”, चन्द्रमायाले रुँदै भन्नुभयो । भूकम्पपछिका प्रत्येक दिनका पीडाका साथै गाँस र बासको अभाबले अब बचेकी एक छोरीलाई हुर्काउनुपर्ने बाध्यताले पिरोलेको छ । छोरी प्रमिलालाई बसोबास समेत हुनेगरी कुनै स्कूलतिरै राख्न पाए आफूले एक पेट दुःखजिलो गरेर खान सक्थेँ भन्ने उहाँको चाहना छ ।

सोझा प्रकृतिका रामभक्त सार्वजनिक सवारीसाधनको एक काउन्टरमा टिकट काट्ने काम गर्नुहुन्थ्यो, यसैक्रममा जसोतसो एउटा घर किनेर उनीहरूले गुजारा चलाउँदै आएका थिए । पहिली छोरी जन्मजात शारीरिक र मानसिक अपाङ्गता भएकी जन्मिई,  त्यही समयदेखि रामभक्त बिरामी पर्नुभएको थियो । चन्द्रमाया भन्नुहुन्छ, “बिरामी श्रीमान् र अपाङ्ग छोरीलाई स्याहार्दै म कसरी यहाँसम्म आए होला आजसम्म, सम्झँदा पनि कहाली लाग्छ ।”

 भूकम्पले घर भत्किएपछि सबैले घर ठड्याए । तर लामो समयसम्म चन्द्रमायाको परिवार भूकम्प लाभग्राहीको सूचीकृत भएन । भूकम्पपछि बनेपास्थित पुन्यमाता किनारमा भाडामा जसोतसो एउटा टहरो बनाएपछि जग्गा कारोवारीले एक वर्षमै जग्गा बेचियो भनेर हटाइदिए । त्यसपछि पनि नजिकै रहेको किनारमा टहरो सारेर बस्नुभएकी चन्द्रमायालाई भत्केको घर नाप्न सर्वेक्षणकर्ता कहिले आए, गए केही पत्तै भएन ।

पुन्यमाताको नदी किनारमा भाडा तिरेर बस्दा पनि निकै पटक बाढीको सामना गर्नुभएकी उहाँ भन्नुहुन्छ, “कहिले आधा जिउँसम्म पानीले डुबायो त कहिले बगाउँला नै जस्तो हुन्थ्यो ।” चन्द्रमायाको  दुःख त्यतिमै पनि सीमित भएन, बनेपा नगरपालिकाले ‘पुन्यमाता करिडोर’ बनाउने नाउँमा गत वर्ष डोजर लगाएर भएको टहरो पनि भत्काएपछि भने आफ्नो भत्केको घरमै टहरो हालेर बस्नुभएको हो ।

 सरकारले अनुदान दिन्छ भन्ने सुन्नुभएकी चन्द्रमायाले पटक–पटक गुनासो गरेपछि मात्र बल्ल यो वर्ष भूकम्पपीडितको सूचीमा उहाँको नाम सूचीकृत भएको छ । भूकम्पपीडितको सूचीमा नाम त आयो तर यसबाहेक घर कसरी बनाउने हो भन्ने पीर गर्दै चन्द्रमाया भन्नुहुन्छ, “कहाँ जाने हो, के गर्ने हो, केही जानेको छैन, निरक्षर छु, कुनै अक्षर पढ्न आउँदैन म के गरु !”

आफ्नो बोलिदिने कोही नहुँदा पहिले भूकम्पपीडितको लाभग्राही सूचीमा नपरेको गुनासो गदै उहाँले भन्नुभयो “अहिले सूचीमा त परेँे, तर घर बनाउन सक्ने औकात छैन ।”

 सहयोगको अपिल गरिरहनुभएकी चन्द्रमायाको समस्या थाहा पाएर पनि नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा पनि अहिलेसम्म बेखबर छ । त्यतिबेला शाखा सभापति रघुवर चौ प्रधानले नै भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यालय धुलिखेलमा चन्द्रमायाको अवस्थाबारे जानकारी गराउनाका साथै एकमुष्ट राहत अनुदानका साथै एकल तथा असहाय महिला भएकाले अनुदानमा पनि रु ५० हजार थप्ने मौखिक सहमति गराउनुभएको थियो । सभापति प्रधान भन्नुहुन्छ, “केही सहयोगी संस्था खोजेर आवासको प्रबन्ध गर्ने प्रयास गर्दैछौँ ।”

 वडाध्यक्ष वर्ण शाक्य नगरपालिकाको इञ्जिनीयरलाई घरको नमूना र मूल्याङ्कन गर्न लगाउने बताउनुहुन्छ  । उहाँ भन्नुहुन्छ, “चन्द्रमायाको आवासका लागि वडा कार्यालयबाट आवश्यक कागजात मिलाई पुनःनिर्माण प्राधिकरणलाई एकै पटक अनुदान दिन अनुरोध गर्नेछौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई