2026-11-02 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेका स्थानीयतहमा इजलासकक्ष नहुँदा न्याय सम्पादनमा समस्या

भेषराज बस्नेत | साउन ५, बाँके  | बाँकेमा स्थानीय तहमा न्यायिक समितिको लागि इजलासकक्षको व्यवस्था नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । बाँकेको आठ स्थानीय तहमध्ये सात स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै इजलासकक्ष नहुँदा न्याय सम्पादनमा कठिनाइ हुने गरेको बाँकेका न्यायिक समितिका संयोजकको गुनासो छ ।

 जिल्लाको एकमात्र नेपालगञ्ज उपमहानगरपालिकामा इजलासको व्यवस्था रहेको छ भने बाँकी सात स्थानीय तहमा न्याय सम्पादनका लागि इजलास कक्षको व्यवस्था हुनसकेको छैन । विवादित विषयलाई छलफलमार्फत मेलमिलाप गराउँदै आए पनि मुद्दाको सुनुवाइ गर्ने ठाउँ नभएपछि विभिन्न समस्या झेल्न बाध्य भएको जानकी गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक भूमिसरा धितालले बताउनुभयो ।

“न्यायिक समितिका लागि छुट्टै इजलासकक्षको व्यवस्था छैन, उपाध्यक्षको कार्यकक्षबाटै न्यायिक समितिको काम गर्दै आएका छौँ”,उहाँले भन्नुभयो, “कार्यकक्षबाटै मेलमिलाप गराउनु पर्दा समस्या हुने गरेको छ । मेलमिलाप चलिरहँदा असम्बन्धित व्यक्ति पनि आउन सक्ने भएकाले मेलमिलापका लागि आउने पक्षविपक्षले खुलेर आफ्ना कुरा राख्न सक्दैनन् ।”

उहाँले न्यायिक समितिलाई इजलासकक्षसँगै स्रोत साधन र दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो । कानूनसम्बन्धी जानकार भएको कर्मचारी न्यायिक समितिमा नहुँदा कहिलेकाहीँ अलमलको स्थिति आउने गरेको उहाँको भनाइ छ । नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले न्यायिक समितिका लागि छुट्टै इजलासकक्ष नहुँदा विवादित पक्षसँग खुलेर कुरा गर्ने वातावरण नहुने भएकाले सबैको अगाडि मेलमिलाप गराउँदा विवादित पक्षले असहज महसुस गर्ने गरेको बताउनुभयो ।

जानकी र नरैनापुर गाउँपालिकाका न्यायिक समितिलाई मात्र नभई बाँकेका अधिकांश स्थानीय तहका उपाध्यक्षले सो समस्या भोग्दै आएका छन् । सरकारले स्थानीय तहमा न्यायिक समितिलाई आवश्यक भौतिक पूर्वाधारको विकास गर्न नसक्दा न्याय सम्पादन प्रभावकारी हुनसकेको छैन ।

डुडुवा गाउँपालिकाकी उपाध्यक्ष शाहिदा बानोले विवाद मिलाउँदा दुवै पक्ष खुलेर कुरा गर्नुपर्ने भए पनि त्यस्तो वातावरण मिलाउन नसकिएको बताउनुहुन्छ । 

संविधानको भाग १७ को धारा २१७ अनुसार स्थानीय तहलाई मुद्दा हेर्ने र फैसलासम्मको अधिकार छ । जसमा मेलमिलापलाई प्राथमिकतामा राखेको छ । देवानी मुद्दा र एक वर्षसम्म कैद हुने फौजदारी मुद्दासहित व्यक्तिगत तथा सार्वजनिक जग्गाको साँध–किला मिचेको, घरायसी विवाद, गाली बेइज्जती, अङ्गभङ्गबाहेकको कुटपिटलगायतका मुद्दा हेर्ने अधिकारसमेत स्थानीय तहलाई दिइएको छ ।

स्थानीय तह सञ्चालन ऐनले न्यायिक समितिका लागि छुट्टै गोप्य इजलासको व्यवस्थासमेत गरे पनि स्थानीय न्यायिक समितिमा इजलास शुरू नहुँदा समस्या भइरहेको खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विक बताउनुहुन्छ । 

बाँकेमा न्यायिक समिति संयोजकहरुको सङ्घका संयोजक तथा नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले इजलासकक्षभन्दा पनि कतिपय गाउँपालिकामा उपाध्यक्षको कार्यालयसमेत व्यवस्था नभएकाले न्यायिक समितिले काम गर्न नसकेको बताउनुहुन्छ । 

न्यायिक समितिहरू प्रभावकारी नहुँदा अधिकांश उजुरी प्रहरी र अदालतमा पुग्ने गरेका छन् । तर घरेलु हिंसासँग सम्बन्धित विवाद प्रहरीले पुनः स्थानीय तहमै पठाइदिने गरेको छ । जसले गर्दा पीडित झन् प्रताडित भइरहनुपरेको छ । 

उच्च अदालत बार एशोसिएसन नेपालगञ्ज इजलासका अध्यक्ष विकास आचार्यले स्थानीय तहमा न्यायिक समितिलाई स्रोत, साधन र ज्ञान सीपको अभाव रहेको बताउनुभयो । सर्वसाधारणलाई न्यायको लागि स्थानीय तहमा सजिलो हुने भएकाले स्थानीय तहहरूले आफू सरकार हो भन्ने आभास गर्ने गरी इजलासकक्षको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द