लक्ष्मीप्रसाद सापकोटा।असार २४,पर्वत। घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहनुभएको थियो । साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका लागि १४ वर्षीय छोरा जेनिशलाई फोन गरेर भिडियोकलमा आउन आग्रह गर्नुभयो । साँझ ७ बजेको थियो, श्रीमती कमला खेत रोपेर घर आइसकेकी थिइनन् । छोरा जेनिशले आफ्नो मोबाइलमा ब्यालेन्स सकिएकाले ममी आएपछि भिडियोकल गर्छु भनेका थिए ।

छोराले भिडियोकल गरेपछि परिवारसँग दुःखसुखका कुरा गर्ने पर्खाइमा रहेका विकासको पर्खाइ जीवनभर नफर्किने गरी अस्ताएको छ । जीवनमा एकाएक बज्रपात शुरु भएको छ । लामो समय छोराको फोन नआएपछि राति ८ बजेतिर पुनः उहाँले फोन गर्नुभयो तर फोन लागेन । सोच्नुभयो, ठूलो पानी परेर होला, स्वीचअफ गरेर सुते होलान् । घरमा छोराछोरी र श्रीमती, आफू खाडीमा । थिए थुपै्र रहर, सपना अनि गरिएका कल्पनाहरु ।

जब रातको ११ बज्यो सामाजिक सञ्जालमा देख्नुभयो पर्वतको दुर्लुङमा दुई घर पुरिए, नौ जना बेपत्ता भन्ने । तुलबहादुर र कमलाको घर पुरिएको भन्ने समाचार पढ्दा पनि उहाँलाई विश्वास लागेन आफ्नी श्रीमती होलिन् भन्ने । किनकि गाउँमा अन्य कमला नाम गरेका महिला अरु पनि थिए । यतिञ्जेल उहाँले खाना खाइवरी सुत्ने तयारी गर्दै हुनुहुन्थ्यो । त्यत्तिकैमा उहाँका साथीहरु कोठामा आइपुगे र गाउँमा खासै केही नभएको, अन्य ठाउँमा पहिरो गएको भन्दै उहाँलाई तनावमुक्त बनाउने प्रयास गरे ।

विकासलाई कल्पना नै थिएन पहिरो जान्छ भन्ने किनकी उक्त ठाउँ दुर्लुङकै फराकिलो र बलियो ठाउँमध्येको हो । त्यहाँ कहिल्यै पहिरो जाँदैन भनेर आठ वर्षअघि जग्गा किनेर घर बनाउनुभएको थियो विकासले । मनमा धेरै डर, थोरै आशङ्का पैदा हुँदाहुँदै उहाँको मनले मानिरहेको थिएन किनकि उहाँका साथीहरुले उहाँलाई मोबाइल हेर्न रोकेका थिए । सत्य घटना कतिबेर लुक्थ्यो र ! विस्तारै आफ्ना साथीहरुको फोन वार्तालापमा उहाँले थाहा पाउनुभयो कि श्रीमती, छोरा, छोरी पुरिइसकेको । उहाँ एकाएक बेहोस हुनुभयो । त्यसपछि उहाँका साथीभाइ र कार्यरत कम्पनीको पहलमा सात दिनमा घर आइपुग्नुभयो र क्वारेन्टिनमा बस्नुभयो । क्वारेन्टिनको बसाइ पूरा गरेपछि गएको शनिबार कोरोना परीक्षणको रिपोर्टसमेत आयो अनि बाहिर निस्किन थाल्नुभयो ।

क्वारेन्टिनबाट निस्कनेबित्तिकै उहाँ आफ्नो पुरिएको घर हेर्न जानुभयो तर सक्नुभएन हेर्न, पुनः बहोस भएर पल्टिनुभयो । अहिले पनि पटक–पटक श्रीमती, छोरा र छोरी सम्झेर भक्कानिएर रुने गर्नुभएको छ । विकास गत भदौमा एक महिना घर बसेर साउदी फर्किनुभएको थियो भने गएको जेठ १५ गते नै घर आउने तयारीमा हुनुहुन्थ्यो तर लकडाउनका कारण रोकिनुभएको थियो । उहाँले भन्नुभयो, “लकडाउन नभएको भए पनि श्रीमती छोराछोरीको मुख देख्न पाउने रहेछु, तर के गर्नु दैवले सबै चकनाचुर पारिदियो ।”

बाह्र वर्ष लामो समय खाडीमा बिताउनुभएका ३२ वर्षीय विकास गाउँमै फर्केर केही गर्ने सोचमा रहनुभएको थियो । उहाँले भन्नुभयो, “अहिले केही सोच्नै सकेको छैन, छोराछोरी र श्रीमती मरेजस्तै लाग्दैन ।” आफू विदेशमा भए पनि दैनिक एक÷डेढ घण्टा छोराछोरीसित कुराकानी गर्ने गरेको बताउनुभयो । पटक–पटक भक्कानिएका विकासले भन्नुभयो, “आखिर जीवन केही पनि रहेनछ ।”

त्यस्तै पहिरोमा आमाबाबु र आफैँले जन्माएका छोरा र छोरी गुमाएका मृतक तुलबहादुर थापाका छोरा अमरबहादुर पनि रोएको रोइरहनुहुन्छ । “न पालनपोषण गर्ने आमाबाबु रहे न जन्माएका छोराछोरी नै, जीवनमा यस्तो बज्रपात कसैलाई नपरोस्”, उहाँले भन्नुभयो । आफू र श्रीमती घरभन्दा २०० मिटर टाढा रहेको पसलमा रहेकाले बाँच्न सफल भएको उहाँले बताउनुभयो ।

बस्ती माथिबाट आएको पहिरोले पुरिएर ५३ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती ५२ वर्षीया मीनकुमारी, नातिनी आठ वर्षीया बिबिशा र नाति १४ वर्षीय सम्राट, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीय दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेकको मृत्यु भएको थियो । त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उहाँकी छोरी आठ वर्षीया प्रमिशा र १४ वर्षीय छोरा जेनिशको ज्यान गएको थियो । रासस

विनाशकारी पहिरो : अझै ओभाएका छैनन् विकासका आँखा
Leave a Comment