Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रदेश नं ५ : स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी प्रस्ताव

२०७७, १६ आश्विन शुक्रबार १२:३०

प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाउन सरकारले आजदेखि प्रक्रिया अघि बढाएको छ । प्रदेश नं ५ को प्रदेशसभाको आजको बैठकमा सरकारले प्रदेशको स्थायी राजधानी र नामकरण सम्बन्धमा औपचारिक प्रस्ताव पेश गरेपछि प्रक्रिया अघि बढेको हो । 

प्रदेश सरकार गठन भएको करीब साढे दुई वर्षपछि सो प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले नेपालको संविधानको धारा २८८ को उपधारा २ र धारा २९५ को उपधारा २ तथा प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी आन्तरिक कार्यविधिको दफा ४ को उपदफा ३ बमोजिम  प्रस्ताव प्रस्तुत गरिएको बताउनुभयो ।

असोज १६, बुटवल (रासस) । उहाँले दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानी तोकियोस् भनी प्रस्ताव गर्नुभएको छ । यस्तै मन्त्री केसीले शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयङ्गम गर्दै साझा चिनारीका रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरिएकोसमेत जानकारी गराउनुभयो । 

प्रदेश सरकारका तर्फबाट प्रस्ताव प्रस्तुत गर्दै मन्त्री केसीले ऐतिहासिक प्रस्तावले प्रदेशमा  एकता कायम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैको एकताले निर्णय हुँदा नमूना र अब्बल प्रदेश देखिनेसमेत बताउनुभयो ।  मन्त्री केसीले प्रदेशसभाले राजधानी र नामका विषयमा बनाएको संसद्को विशेष समितिको एक वर्षको मेहनतपछिको प्रतिवेदन, विज्ञका सुझाव र विभिन्न राजनीतिक दलका नेताले व्यक्तिगत स्वार्थ छाडेर दिनुभएको सल्लाह र सुझावबाट ऐतिहासिक काम सम्पन्न गरिएको बताउनुभयो ।

उहाँले सरकारले सिङ्गो प्रदेशको बृहत्तर विकासका लागि बुटवल–भैरहवा, घोराही–तुल्सीपुर र नेपालगञ्ज–कोहलपुरलाई जोडेर प्रदेशमा तीन स्वर्णिम शहर विकास गर्ने लक्ष्य अघि सारिएसमेत जानकारी गराउनुभयो । 

 प्रस्तुत प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहमति जनाएको छ । सांसद वैजनाथ कलवारले विशेष समितिको प्रस्ताव एकल राजधानी नरहेको बताउँदै कुन मापदण्डका आधारमा एकल नाम ल्याइएको भनेर प्रश्न गर्नुभयो । यस्तै प्रमुख विपक्षी दलका प्रदेशसभा सदस्य रमा अर्यालले कार्यसूचीभन्दा अलग तरिकाले प्रस्ताव पेश गरिएको भनी आपत्ति जनाउनुभयो ।

विपक्षी दलका अर्का प्रदेशसभा सदस्य फकरुद्धिन खाँले प्रस्ताव विपक्षी दलसँग छलफल नै नगरी प्रस्ताव ल्याइएको जनाउँदै हर्षाेल्लासका साथ ताली बजाएर, टेबल ठटाएर स्वागत गर्ने वातावरण नबनेकाले चित्त दुखेको बताउनुभयो ।

प्रदेशसभामा पेश गरिएको प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल शुरु हुने सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । प्रदेशसभाको आगामी बैठक यही असोज १९ गते मध्याह्न १२ बजे बस्ने छ । सभामुख घर्तीले आगामी बैठकमा सरकारको प्रस्तावमाथि छलफल हुने भएकाले सचिवालयमा नाम टिपाउन सांसदलाई आग्रह गर्नुभयो ।

यसअघि प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामकरणको प्रस्ताव सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो । प्रदेशसभाको दुईतिहाइ बहुमतले पारित गरेपछि प्रदेशको स्थायी राजधानी र नामको अन्तिम टुङ्गो लाग्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश