पढ्न करिब 2 मिनेट लाग्छ
<p>पुस ११, बैतडी (रासस) । गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु बन्द भएका छन् । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाहरु बन्द भएका हुन् । गत भदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इलाका प्रशासन कार्यालयमा गएको पाँच महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायत सबै काम रोकिएका छन् ।”</p><p>एक शाखा अधिकृत, दुई नायब सुब्बा, एक सहलेखापाल, एक सहायक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा अहिले एक नायब सुब्बा र एकजना कार्यालय सहयोगी मात्रै रहेका छन् । दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र र सिफारिसलगायत कामका लागि फेरि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भएको छ । </p><p>कर्मचारी नहुँदा इलाका प्रशासनमा उपलब्ध हुने सेवा लिनकै लागि सदरमुकाम पुग्नुपर्दा सेवाग्राहीलाई समस्या भएको अनिरुद्र जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीवासीले सदरमुकाम धाउनु परेको छ ।”</p><p>इलाका प्रशासन कार्यालयमा कर्मचारीको पदपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि अहिलेसम्म कर्मचारी नआएका सहायक प्रजिअ नेगीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासनमै कर्मचारी अभाव छ, जिल्लाबाट पनि कर्मचारी पठाउन सकिएको छैन ।” २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारीको अभावले सेवा प्रभावित हुँदै आएको छ ।</p>

