जेठ २६, बैतडी (रासस) । सुदूरपश्चिम प्रदेश गौरव योजनाका रूपमा रहेको बैतडी जिल्लाको एक मात्र सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ । योजनामा काम गर्ने कामदार नपाइएका र निर्माण सामग्री महङ्गो भएका कारण सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो ।

जिल्लाको सतबाँझबाट साढे छ किलोमिटर कालोपत्रका लागि काम भइरहेको सो सडकखण्डमा कोरोनाका कारण काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताउनुभयो । यस्तै सोही खण्डको श्रीभावरबाट हाटसम्मको साढे आठ किलोमिटर कालोपत्र गर्ने काममा समेत बाधा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण कामदार पाउनै मुस्किल छ, निर्माण कम्पनीले काम गर्न सहज नभएको बताएका छन् ।”

चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्र गर्नका लागि ठेक्का सम्झौता गरेर गत साउनदेखि काम अघि बढाएको थियो । स्तरोन्नति कार्यको उद्घाटन तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले गर्नुभएको थियो । गत वर्ष पनि निषेधाज्ञाकै कारणले ढिला गरी सडक स्तरोन्नति शुरु भएको थियो । सतबाँझबाट साढे छ किलोमिटर स्तरोन्नति गर्नका लागि रु १२ करोड र श्रीभावरबाट हाट खण्डमा साढे आठ किलोमिटर स्तरोन्नतिका लागि रु १७ करोडमा सम्झौता भएको हो ।

तीन वर्षभित्र काम सक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको भए पनि समयमै सम्पन्न हुने सम्भावना कम रहेको बताइएको छ । प्रदेश गौरवको योजनाअन्तर्गत सतबाँझ–श्रीभावर–हाट सडकको स्तरोन्नति गर्ने काम सम्पन्न भएपछि यो सडकले नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । “यो सडक हाम्रै गाउँपालिका भएर स्तारोन्नति भइरहेको छ”, उहाँले भन्नुभयो, “सडक निर्माण भएपछि ग्रामीण अर्थतन्त्रमा सुधार आउने विश्वास छ ।”

तत्कालीन जिल्ला विकास समितिले विसं २०५५ मा ‘ट्र्याक ओपन’ गरेको यस सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको हो । कोरोनाका कारण प्रदेश गौरवको उक्त योजनाका साथै अन्य सडक निर्माणलगायत विकास निर्माणका काममा ठूलो बाधा पुगेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ ।

कोरोना कहरले अन्य बहुवर्षीय योजनाको काम समयमै सम्पन्न गर्न ढिलाइ हुने देखिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “विकास निर्माणका योजनाका लागि आवश्यक निर्माण सामग्री पाउन कठिनाइ छ, मजदुर पनि पाउन मुस्किल भएको छ ।” जिल्लामा चालु आर्थिक वर्षमा ५५ वटा सडक निर्माणका काम भइरहेका भए पनि कोरोनाका कारण योजना प्रभावित भएको जनाइएको छ ।

जिल्लामा सञ्चालित अन्य ठूला योजनासमेत कोरोनाले प्रभावित भएका हुन् । पाटन–पञ्चेश्वर, सिल्लेगडा–कटौजपानी, खोचलेक–सित्तड–रीम–डिलाशैनी, देहीमाडौँ–गिरेगडा, गन्ना–गनैखानलगायतका ठूला योजना बढी प्रभावित भएका कार्यालयले जनाएको छ ।

June 9, 2021
बैतडी - BTD, समाज
बैतडीमा प्रदेश गौरवको योजना निर्माण ठप्प
By साझासवाल
6 मिनेट पढाइ