पढ्न करिब 2 मिनेट लाग्छ

साउन १, बैतडी (रासस) । बैतडीमा आजदेखि पूर्ण सीट क्षमतामा जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।

गएको असार १६ देखि आधा सीट क्षमतामा मात्रै सार्वजनिक सवारी साधन सञ्चालन भइरहेकोमा आजदेखि निषेधाज्ञा थप खुकुलो भएसँगै पूर्ण सीट क्षमतामा सार्वजनिक सवारी साधन सञ्चालन आएका हुन् ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा शुक्रबार जारी गरिएको आदेशानुसार जिल्लाभित्र पूर्ण सीट क्षमताका आधारमा यात्रु बोक्न पाइने भनिएको छ ।

सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले अनिवार्य एन्टिजेन परीक्षण भने गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

जिल्लाभित्र सार्वजनिक सवारी तथा निजी भाडाका गाडी जनस्वास्थ्य मापदण्डको पूर्णपालना गरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा आएका हुन् ।

यसअघि असार १६ गतेदेखि जिल्लामा आधा सीट क्षमतामात्रै सार्वजनिक सवारी साधन सञ्चालन हुँदा यात्रुले चर्को भाडा तिर्नु परेको थियो । बैतडीमा वैशाख २० गतेदेखि जारी रहेको निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ ।

निषेधाज्ञाको उक्त अवधिमा सबै कार्यालयले सार्वजनिक सेवा नियमित रुपमा प्रवाह हुने छन्, सबै प्रकारका पसल बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन गरिने भएको छ ।

व्यापारीको हरेक १५/१५ दिनमा कोरोना परीक्षण विवाह व्रतबन्ध जस्ता धार्मिक कार्य बढीमा २५ जनासम्म उपस्थित हुने र जनस्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइने छ ।

यस्तै मेला, महोत्सव, सम्मेलन र खेलकुद गतिविधिमा भने रोक लगाइएको छ । भारतसँग सीमा जोडिएका जिल्ला बैतडीमा कोरोनाकै कारण जिल्लाका हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।