२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उठ्न थाले बगेका बस्ती

२०७८, १४ श्रावण बिहीबार ०६:२२

देवराज सुवेदी । साउन १४, सिन्धुपाल्चोक (रासस)। हेलम्बु गाउँपालिका–१ चिउरीखर्क गरिब मगर र दलित बस्ती हो । विसं २०७२ को भूकम्पले थिलोथिलो भएको उक्त बस्ती बासिन्दाले आफ्नो थातथलोमा बस्न नसक्ने भएपछि सडक छेउ मोहीबापत कमाउँदै आएको जग्गामा भूकम्पको बेला पाएको रकमले घर बनाए । घर बनाएको तीन वर्ष नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले न घर रह्यो, न आफूले मोहीबापत कमाउँदै आएको जमिन नै ।

भूकम्प होस् वा बाढी पहिरोको विपद्, यसको सबैभन्दा बढी मार भुइँमान्छेलाई पर्छ । यसको मार आज चिउरीखर्कका गरिब जनताले बेहोरिरहेका छन् । पटक–पटकको प्राकृतिक प्रकोपका कारण यो बस्तीका मानिसको जीविका उकासिनुको साटो झन भासिएको छ । चिउरीखर्कका गोपाल थापामगर भन्नुहुन्छ, “भूकम्पमा बनाएको घरको ऋण तिर्न सकेको छैन अर्को विपत्ति झेल्नुपर्यो । न घर रह्यो न जग्गा, अब कसरी जीविका धान्ने ।”

चिउरीखर्कमा यस्ता २२ घरधुरी छन् । सबैको अवस्था उही, न घर रह्यो न जमिन । भूकम्पका कारण विस्थापित भएका उक्त बस्तीका बासिन्दा अब पुरानै थातथलोमा बस्न बाध्य छन् तर आशा भने मारेका छैनन् । काले कामी भन्नुहुन्छ, “जे हुनु भयो अब पुरानो थातथलोमा फर्कनेबाहेक अरु विकल्प छैन । यहीँ घर बनाउने र पाखो फाँडेर खेती लगाउन शुरु गर्ने हो, बच्नु त पर्यो ।” त्यसैले उनीहरुले पुरानै थलोमा अस्थायी आवास बनाउन शुरु गरिसकेका छन् । उक्त समुदायमा गाउँपालिकाको डिजाइनअनुसार स्टार्ट फण्डको सहयोगमा केयर नेपाल, पिपुल इन नीड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा २० वटा तीन कोठे अस्थायी आवास निर्माण भइरहेका छन् । 

वर्षायाम, दिनहुँको झरी र घामले बस्न धौ–धौ भएको बेला निर्माणाधीन अस्थायी आवासले चिउरीखर्कवासीको मनमा बाढीको पीडा भए पनि मुहारमा हाँसो थपिएको छ । नजिकिँदो चाडबाडमा बास र गाँस गुमाउँदाको पीडामा तत्काल घर बनाउन पाउँदा उनीहरुको मुहारमा हाँसो थपिएको हो । चन्द्रकुमारी थापामगर भन्नुहुन्छ, “बाढीमा बाँचेको शरीरलाई जोगाउन त्रिपाल हालेर बसेका छौँ । घाम र पानीमा बस्न धेरै धौ–धौ भएको छ । त्यसैले हामी सबै मिलेर घर बनाउन जुटेका छौँ । एक महिनापछि पुरानै थलोमा सर्ने योजना छ । त्यही घरमा बसेर चाडबाड मान्ने हो ।”

कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । उहाँले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको रु पाँच लाख आउने बित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिनुभयो । गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको प्राविधिक ‘स्टमेट’अनुसार रु तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् ।

इन्द्रेणीले १७ तथा हेल्बटास र पिनले ४२ अस्थायी आवास र देशभरका कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले ४३ वटा पक्की घर निर्माण गरिदिने भएको अध्यक्ष शेर्पाले बताउनुभयो । यही असार १ गते मेलम्ची नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको थियो । बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारलगायतको क्षेत्र क्षतविक्षत बनाएको थियो । बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची आसपासका २५४ घर पूर्ण क्षति भएका थिए भने ६९६ घरधुरी विस्थापित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ