2026-11-02 12:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँके निकुञ्जमा ३५८ वन्यजन्तु मारिए

मेनका चौधरी । साउन २८, बाँके। बाँके जिल्लाको निकुञ्जभित्रको राजमार्ग वन्यजन्तुका लागि विद्युतीय धरापजस्तै खतरा भएको छ । पछिल्लो सात वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा प्रत्येक वर्ष राजमार्गमा गाडीको ठक्करबाट मारिने वन्यजन्तुको सङ्ख्या बढ्दो छ । तीव्र गतिमा चलाइने सवारी साधनका कारण राजमार्गमा वन्यजन्तु मारिने क्रम रोकिएको छैन ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग र कोहलपुर–सुुर्खेत सडकखण्डअन्तर्गत रत्न राजमार्गमा गुड्ने यातायातका साधनका कारण पछिल्लो सात वर्षमा सवारी दुर्घटनामा परी ३५८ वन्यजन्तु मारिएका छन् । आर्थिक वर्ष ०७७/०७८ मा मात्र पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा गुड्ने यातायातका साधनले ४३ वटा वन्यजन्तुको कुल्चेर ज्यान गएको छ । गत आवमा अन्य कारणले २५ वटा वन्यजन्तुको मृत्यु भएको छ । 

“निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तुका लागि जोखिम बनेका छन्”, निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले भन्नुभयो, “तीव्र गतिमा गुड्ने यातायातका साधनले सडक वारपार गरिरहेका वन्यजन्तुलाई कुल्चेर भाग्ने गर्छन् ।” राजमार्गमा यातायातका साधन तीव्र गतिमा गुड्ने भएकाले सडक वारपार गर्ने क्रममा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको उहाँले बताउनुभयो । यसरी यातायातका साधनले कुल्चेर मर्नेमा सबैभन्दा धेरै चित्तल, बँदेल र बाँदर प्रजातिका वन्यजन्तु रहेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत न्यौपानेले राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापर्बाहीले वन्यजन्तु जोगाउन मुस्किल परेको बताउनुभयो । उहाँँले सबैभन्दा बढी सडक दुर्घटनामा परी पूर्वपश्चिम राजमार्गमा मारिने गरेको बताउनुभयो ।

निकुञ्जमा पूर्वपश्चिम राजमार्गले ७२ किलोमिटर र उत्तरदक्षिणको रत्न राजमार्गले ३२ किलोमिटर निकुञ्जभित्रको वन क्षेत्र ओगटेको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७१/०७२ मा सडक दुर्घटनामा परी १६ वटा वन्यजन्तुले ज्यान गुमाएका थिए भने उक्त आवमा कुकुरको टोकाइ तथा अन्य कारणबाट चार–चार वटा मारिएका थिए । सडक दुर्घटनामा परी आव ०७२/०७३ मा परी ४३ र कुकुरको टोकाइबाट तीन र अन्य कारणले चार वटा वन्यजन्तुको मृत्यु भएको थियो । 

त्यसैगरी आव ०७३/०७४ मा सडक दुर्घटनामा परी ६१ र कुकुरको टोकाइबाट सात तथा अन्य कारणले १५ वन्यजन्तुको मृत्यु भएको थियो । यातायातका साधनको ठक्करले मृत्यु हुने वन्यजन्तुको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । आव ०७४/०७५ मा बढेर ७२ वन्यजन्तुको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । सोही आवमा कुकुरको टोकाइबाट चार र अन्य कारणले छ वटा वन्यजन्तुले ज्यान गुमाए ।

सहायक संरक्षण अधिकृत न्यौपानेका अनुसार आव ०७५/०७६ मा सडक दुर्घटनामा ४४ वन्यजन्तुको मृत्यु हुँदा कुकुरको टोकाइबाट १३ र अन्य कारणले नौ वन्यजन्तुले ज्यान गुमाउनुपरेको थियो । आव ०७६/०७७ मा ५४ र गत आवमा ४३ वन्यजन्तुको सवारी दुर्घटनामा परी मृत्यु भयो भने गत आवमा कुकुरको टोकाइबाट २५ वन्यजन्तुको मृत्यु मारिए । 

निकुञ्जमा टाइम कार्ड र आकाशे पुल निर्माण

सवारी साधनबाट वन्यजन्तु मारिने क्रम नरोकिएपछि निकुञ्जले राजमार्ग क्षेत्रमा टाइम कार्डको व्यवस्था गरेको छ । राजमार्गमा गुड्ने सवारी साधनको गति कम गरी वन्यजन्तुलाई जोगाउन टाइम कार्डको व्यवस्था गरिएको सहायक संरक्षण अधिकृत न्यौपानेले बताउनुभयो ।

निकुञ्जले वन्यजन्तुलाई जोगाउन राजमार्गको विभिन्न क्षेत्रमा सचेतनामूलक होर्डिङ बोर्डसमेत राखेको छ । होर्डिङ बोर्ड र टाइम कार्डको व्यवस्था गरिए पनि दुर्घटना रोकिएको छैन । सडक दुर्घटनाबाट जोगाउन निकुञ्जमा पर्ने राजमार्गको विभिन्न ठाउँमा आकाशे पुल (क्यानोफी ब्रिज) समेत बनाइएको छ । वन्यजन्तुको बढी ओहोरदोहोर हुने ठाउँमा आकाशे पुल निर्माण गरिएको हो । 

“लोखर्के, बाँदर, सर्प, मुसा प्रजातिका वन्यजन्तु सडक दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले निकुञ्जमा पर्ने राजमार्गको विभिन्न स्थानमा आकाशे पुल निर्माण गरेका छौँ”, सहायक संरक्षण अधिकृत न्यौपानेले भन्नुभयो, “सवारी साधनको गति मापन गर्न राडार गन ल्याउने तयारी छ ।” पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको मुलुकको सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज बाह्रै महिना पानी बग्ने नदी र खोलाविहीन छ । जसका कारण गर्मी सुरु भएसँगै वन्यजन्तु पानीको खोजीमा निकुञ्जबाहिर निस्किने गर्छन् । 

वन्यजन्तुका लागि प्राकृतिक र कृत्रिम गरी निकुञ्ज क्षेत्रमा करिब १०० भन्दा बढी पानीका स्रोत छन् तर अधिकांश खोला खहरे भएकाले वर्षापछि सुक्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले निकुञ्जभित्रका पानीका तीन तिहाइ स्रोत सुकिसकेको बताउनुभयो  । “एक चौथाइ पानीका स्रोतमा धेरैथोरै पानी छ । बाँकी सुकिसके । अरु सुक्ने क्रममा छन्”, उहाँले भन्नुभयो, “गर्मीसँगै निकुञ्जमा वन्यजन्तुको चहलपहल बढी देखिन थालेको छ । पानीका कारणले पनि वन्यजन्तुको चहलपहल हुन सक्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द