असोज १६ , बैतडी , न्युज कारखाना । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ र ४ को सीमाना मान्टोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न अस्थायी प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

प्रहरी चौकीको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । उद्घाटनका लागि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रमेशबहादुर पाललगायत पुर्चौडी पुगेका थिए । जिल्लाभरी अहिले चारवटा अस्थायी प्रहरी पोष्ट रहेका छन् ।

मान्टोलामा स्थापना गरिएको प्रहरी चौकीमा प्रहरी हवल्दारको नेतृत्वमा ६ जनाको टोली खटाइएको छ । चौकीमा पछि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटाइने प्रवक्ता ओझाले बताए ।

पुर्चौडीको मान्टोलामा अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने र ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आउने विणेश्वर माविका शिक्षक विरेन्द्र कुँवरले बताउँछन् ।

जिल्लाभरी २ वटा इलाका प्रहरी कार्यालय, २४ प्रहरी चौकी, ४ वटा अस्थायी प्रहरी चौकी र एक सीमा प्रहरी चौकीमार्फत प्रहरीले सेवा दिइरहेको छ ।