वैशाख २९, काठमाडौँ | बुद्ध एयरले बिहिबार एउटा प्रेस विज्ञप्ती जारी गर्दै मे १५ (जेठ १) गते का दिनदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालिन उडान सेवा विस्तार गर्न लागेको जनाएको छ । रात्रिकालिन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उपलब्ध हुनेछन् । यी उडानका समयहरु राती ८ बजेदेखि र त्यसपछिका मात्र हुनेछन् ।

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालिन उडान रहेको छ ।

दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।

बुद्ध एयरले रात्रिकालिन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ ।

यात्रुहरुको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुध्द एयरले लिएको छ ।

बुध्द एयरले काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरि रात्रिकालिन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको छ ।

रात्रिकालिन उडानका समन्वय र सुविधाका लागि बुध्द एयर नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

दोस्रो हब भैरहवा

पोखरा विमानस्थललाई बुध्द एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसको प्रत्यक्ष फाईदा व्यापारिक र विशेषगरि पर्यटकहरुलाई पुगेको छ ।

अब बुध्द एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको छ । भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याईसकेको छ ।

निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना बुध्द एयरको रहेको छ । उडानसँगै पर्यटकहरुका लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजमार्फत होलिडे प्याकेजहरु पनि सञ्चालन गरिरहेको बुद्ध एयरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बुद्ध एयरले मे १५ देखि ६ गन्तव्यमा रात्रिकालिन नियमित उडान थाल्ने
Leave a Comment