Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दुर्गमका ज्येष्ठ नागरिकका पीडा : भत्ता लिन दुई दिन पैदलयात्रा, पालो नआएपछि रित्तो हात फर्किए

By साझासवाल 5 मिनेट पढाइ

जेठ २९, बैतडी | बैतडीकाे सबैभन्दा दुर्गम सिगास गाउँपालिकाका कले लुहार, महा लुहार र कालु लुहार दुई दिन जंगलको बाटो पैदल यात्रा गरेर सामाजिक सुरक्षाभत्ता बुझ्न भन्दै घरबाट हिडेँ । वडा नं २ स्थित गाँजरीमा रहेको कृषि विकास बैंक शुक्रबार पुगेका उनीहरू रित्ताे हात घर फर्किन बाध्य भए । कारण- दिनभर लाइनमा बसेपनि पालो नै आएन । र अन्तिममा दुई दिन सार्वजनिक बिदा रहेकाले सोमबार आउन भनियो ।

भौगोलिक विकटता र बैंकिङ झन्झटका कारण दुःख भएको लाभग्राहीको गुनासो छ । सिगासको वडा न.५, ६, ७ र ८ बाट हिँडेर बैंक भएको ठाउँ पुग्दा दुईदेखि तीन दिन लाग्छ । हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई बोकेर लैजानुपर्ने अवस्था छ ।

वडास्तरमै भत्ता पाउने व्यवस्था गर्न सिगासका लाभग्राहीको माग छ । अहिले गाजरीमा रहेको कृषि विकास बैंकमार्फत भत्ता वितरण हुने गरेको छ । सिगास गाउँपालिकामा मात्रै नभई जिल्लाका सबैजसो ठाउँहरूमा सामाजिक सुरक्षाभत्ता बुझ्न समस्या भइरहेको छ । तीन देखिचार महिनाको भत्ता एकैपटक निकासा हुँदा बैंकहरूमा भत्ता बुझ्नेको भिड लाग्ने गर्दछ ।

वृद्ध कालु लुहारले भने, ‘अहिले मात्र नभई बिरामी परेका बेला, बर्षातका बेला र हिउँ परेका बेलासमेत हामी यसैगरी भिरपाखाको बाटो भएर भत्ता बुझ्न आउँछौँ, बुढेसकालमा भत्ता बुझ्न धेरै दुःख पाइन्छ ।’

विगतमा वडा कार्यालयबाटै वितरण हुँदै आएको भत्ता गत चैतदेखि बैंकिङ प्रणालीबाट वितरण हुन थालेको हो ।

बिजुली नहुँदा सोलारको भरमा कम्प्युटर र इन्टरनेट चलाएर सेवा दिनुपरिरहेको गाँजरीस्थित कृषि विकास बैंकका प्रमुख शेरसिंह साउदले बताए । बैंकमा बिजुली र भरपर्दो इन्टरनेट नहुदाँ समस्या छ । त्यहाँ बैंक खुलेको केहि समय त इन्टरनेटले कामै नगर्दा कारोबार हुनै सकेको थिएन। अहिले सोलारबाट कामकाज गरिन्छ । तर, घाम नलागेको दिन काम गर्न सकिदैन,'  बैंकका शाखा प्रमुख साउदले भने ।

सेवाग्राहीको मागअनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।