2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले पीडितलाई १६ लाख क्षतिपूर्ति दियो

कात्तिक १३ , दार्चुला | सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो । 

भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । “सडक निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको छ”, उनले भने, “नगद रकम मृतक बालकका बुबा र आमाको नाममा संयुक्त खाता खोलेर जम्मा गरिने छ ।” छठ पर्वका कारण आज बैंक बन्द भएकाले सोमबार संयुक्त खाता खोलेर रकम जम्मा गरिने प्रजिअ उपाध्यायले बताए । “हाललाई नगद रकम मृतक बालकको बुबा हिक्मत महराको जिम्मा लगाइएको छ”, उनले भने ।  

दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार बिहान सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले लागेर स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरूका साथमा हिँडिरहेका बेला उक्त घटना घटेको हो । “हामी महाकाली किनार हुँदै घर फर्किदै थियौँ, एक्कासी ढुङ्गाले लागेर छोरोको घटनास्थलमै ज्यान गयो”, मृतक बालकका बुबा हिक्मतले भने, “घटनामा छोरी सरिना पनि घाइते भएकी छिन्।” उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

मृतक बालकका बुबा हिक्मतका अनुसार गए राति भारतको धारचुलास्थित सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको हो । भारतीय पक्षसित क्षतिपूर्तिका लागि शनिबार दिनभर छलफल भएको थियो । छलफलमा ब्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी, वडा नम्बर २ का वडाध्यक्ष धीरन बुढाथोकीलगाययत जनप्रतिनिधि सहभागी रहेको हिक्मतले जानकारी दिए । “उपलब्ध रकम अरु सन्तानलाई पढाउन खर्च गर्छु”, उनले भने । घटनापछि भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको हो ।  

महाकाली किनारमा भारतले आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो । भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गाले लागेर बालक महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना पटक पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकामा नेपाली पक्षले आपत्ति जनाएको थियो । मृतक बालक महरा दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । महरा परिवार दसैँ तिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो । यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरु गाउँ फर्किँदै थिए ।  

भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ । त्यसका लागि बेला बेलामा उनीहरुले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था आएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ । “यस्तो अवस्थामा दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ”, प्रजिअ उपाध्यायले भने । तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको उपाध्यायले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द