मङ्सिर ११, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थालिएकामा यहाँको सदरलाईन, एकलैनी, ईदगाह रोड, सुर्खेत रोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडसम्म अभियान सञ्चालन गरिने भएको छ ।

उपमहानगरपालिकाले सडकपेटी खाली गर्न केही महिना अघिदेखि नै पटक पटक सूचना जारी गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेपछि डोजर चलाउनु परेको नगरप्रमुख बिष्टको भनाइ थियो ।

सडक पेटी र नाला कब्जा गरेर व्यापार गर्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो । यो अभियानले नगरको ट्राफिक व्यवस्थापन पनि सुदृढ हुने उहाँको भनाइ थियो ।