२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

जितिया पर्व भोलिदेखि सुरु

२०७३, ५ आश्विन बुधबार ०७:२०

प्रभाषचन्द्र झा, असोज ५, विराटनगर । सन्तानको दीर्घायुको कामनाका साथ जितिया पर्व भोलिदेखि सुरु हुँदैछ । 

यस पर्वमा वर्तालु माताहरुले आश्विन कृष्ण सप्तमी तिथि अर्थात भोलिस्नान गरी चोखो हुने र तिथिको उत्तरार्धको समयमा ‘ओटघन’ गरी अष्टमी तिथिको आगमन हुनासाथ वर्तको शुभारम्भ गर्छन् । 

सन्तानको सुख एवम् दीर्घायुको कामनाका लागि यस पर्वमा जिमूतबाहन देउताको पूजा गर्दै नवमी तिथिको आगमन हुनासाथ विधिपूर्वक पूजापाठ गरेपछि सम्पन्न हुन्छ । 

मैथिल, भोजपुरी, राजवंशीका साथै थारु समुदायमा विशेष महत्वका साथ यो पर्व मनाइने गरिन्छ । 

गत वर्षको तुलनामा यसवर्ष वर्तालु महिलालाई केही सहज भएको छ । तिथिको समयमा घटबढ नभएको कारणले शुक्रबार बिहान ७ बजेदेखि अष्टमी तिथिको शुभारम्भ हुन्छ र शनिवार ७ बजेसम्म मात्र वर्तालुलाई निराहार उपवासमा बस्नुपर्ने हुन्छ । गतवर्ष तिथिको समयमा घटबढ भएको कारण वर्तालुलाई करिब ३६ घन्टा उपवासमा बस्नुपरेको थियो भने यसवर्ष २४ घन्टा मात्र उपवासमा बस्नुपर्ने हुन्छ । 

तिथिको समयमा घटबढ नभएका कारण यो बर्ष वर्तालुले सूर्योदयअघि नै बिहानको समयसम्म ‘ओटघन’ गर्न पाउँछन् । वर्तालुले सप्तमी तिथिको उत्तरार्धमा भोजन गर्छन्, त्यसलाई ‘ओटघन’ भनिएको हो । वर्तालु आ–आफ्ना सन्तानसँगै बसेर दही–च्युरा, मिठाइलगायतका भोजन गरी पर्वको शुभारम्भ गर्छन् । 

त्यसपछि, थुक पनि निल्न नपाउने गरी उपवासलाई निरन्तरता दिनुपर्ने हुन्छ । अति नियम निष्ठाका साथ मनाइने यसपर्वमा सप्तमी तिथिका दिन वर्तालु माताहरु पोखरीमा स्नान गरेर सूर्यदेवलाई जलअर्पन गरी जितिया पर्वको सङ्कल्प गर्छन् । 

योपर्व पितृपक्षको अवधिमा पर्छ । तसर्थ, वर्तालु मैथिल ब्राह्मणीले आ–आफ्ना सन्तानको दीर्घायुका साथै दिवङ्गत सासु र आमाको मोक्ष प्राप्तिका लागि अन्य गोत्रकी सधुवा ब्राह्मणीलाई सप्तमी तिथिका दिन निम्तो दिई भोजन गराउँछन् । त्यसपछि, सोही दिन सबै सधुवा वर्तालुले कोदोको रोटीका साथै माछा र विधुवाले अरुवा अरुवाइन खाने गर्छन् । 

अष्टमी तिथिको अवधिसम्म उपवासमा बसेकी ब्राह्मणी वर्तालुले नवमी तिथिका दिन अन्य गोत्रका कम्तीमा एकजना ब्राह्मणलाई भोजन गराई दान दक्षिणा अर्पन गर्नुपर्ने हुन्छ । ब्राह्मणले भोजन गरेपछि वर्तालुलाई अन्न जल ग्रहण गर्न आदेश नदिएसम्म वर्त सम्पन्न नभएको मानिन्छ । 

जितिया पर्वको सम्बन्धमा भविष्य पुराणमा उल्लेख गरिएको छ, एकपल्ट पार्वतीले महादेवसमक्ष यस्तो कुन वर्त वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुर्दैन भनि राख्नुभएको जिज्ञासामा महादेवले जिमूतबाहनको कुशको मूर्ति बनाई कलशमा स्थापना गरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पोकरीका रुखको हाँगा गाड्नु पर्दछ । 

गाडिएको सो हाँगामाथि चीलको आकृति र सोको मुनि एउटा स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगौचर सही हुने र अकाल मृत्युबाट जोगिन्छ भनेर पार्वतीलाई जानकारी गराउनुभयो । 

यस पर्वको खास महत्वको रुपमा जितिया पर्वको कथा पनि हो । टोल–टोलकी वर्तालु माताका साथै अन्य महिला एक ठाउँमा भेला भएर बडो जतनका साथ कथा श्रवण गर्छन् । यो कथा जनावर र चरासँग जोडिएको छ । 

चिल र स्यालनी यस कथाको मुख्य पात्र हुन् । चिलको जन्म शीलावतीको रुपमा र स्यालनीको जन्म कर्पुरावतीको रुपमा भएको कथामा उल्लेख छ । पूर्वजन्ममा शीलावतीले जितिया पर्व विधिपूर्वक गरेको र कर्पुरावतीले उपवासलाई भङ्ग गरी मासु खाएको वर्णन गरिएको छ । 

जितिया पर्व विधिपूर्वक गर्ने शीलावतीको छोरा जीवित रहनु र कर्पूरावतीले वर्त भङ्ग गरेकी कारण एउटा पनि छोरा जीवित नरहनु लगायतका विषयमा जानकारी गराई नियमनिष्ठाका साथ वर्त सम्पन्न गराउने तर्फ प्रेरित गर्नु नै कथाको मुख्य उद्देश्य रहेकोे श्रीमती अमिता झाले बताउनुभयो । 

सोही कारणले यो पर्व विधिपूर्वक नियमनिष्ठाका साथ गर्नुपर्ने र यो पर्व खण्डित गर्न नपाइने भएकाले बाचुञ्जेलसम्म माताले सन्तानको दीर्घायुका लागि पर्वलाई निरन्तरता दिने गर्छन् । 

खासगरी तराई जिल्लामा बढो उत्साहका साथ यो पर्व मनाउने तयारीमा जुटेका छन । कतिपय ठाउँमा जिमूतबाहन देउताको मूर्ति बनाएर विधिपूर्वक पूजापाठ गर्ने गर्छन् भने थारु समुदायका महिला पूजापाठका साथै नाचगानलगायतका कार्यक्रमसमेत आयोजना गर्छन् । 

यस पर्वमा हरितालिका तीजको पनि प्रभाव पर्न थालेको छ । जितिया पर्व मनाउने वर्तालुका लागि तीज जतिकै दर खुवाउने चलन सुरु भइसकेको छ । 

यतिखेर झापा, मोरङ, सुनसरी, सप्तरीलगायत तराईका सहरी क्षेत्रमा सामूहिक रुपमा दर खुवाउने कार्यक्रम व्यापकरुपमा देखिन थालिएको हो । खासगरी, थारु समुदायमा कतिपय वर्तालु माइतमा पुगेर यो पर्व मनाउने गर्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो