Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नारायणगढ-बुटवल खण्डको दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि आजदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदैछ। सडक आयोजनाले आज चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गर्न लागेको हो।२०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म ६ घण्टा सडक बन्द गरिने छ। यी मिति र समय अवधिमा एम्बुलेन्स, दमकल, प्रहरी लगायतका अत्यावश्यक सेवाका सवारी साधनलाई भने रोक लगाइने छैन।

बर्खायाम सुरु हुनुभन्दा अगाडि नै राजमार्गमा सहज यात्राका लागि दाउन्ने खण्डमा सडक बन्द गरेर सडक विस्तारको काम गर्न लागिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए। अत्यन्तै संवेदनशील र जोखिम क्षेत्र मानिने दाउन्नेमा पहाडको भित्ता काट्ने, पर्खाल लगाउने तथा कल्भर्टका कामहरू भैरहेका छन्। साँघुरो सडक र कामसमेत भैरहेकाले अहिले दैनिकजसो यात्रुहरूले दुःख पाइरहेका छन्। दाउन्ने खण्डको १३ किलोमिटर पार गर्न अहिले सवारी जामले ५ देखि ६ घण्टा लाग्ने गरेको छ।

प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले सडक विस्तारको काममा पनि डिस्टर्व हुने र यात्रुले पनि दुःख पाउने अवस्था देखिएकाले बरु सडक नै बन्द गरेर काम गर्ने प्रस्ताव आयोजनाले गरेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरुसहित बैठक बसेर दाउन्ने खण्डमा राजमार्ग बन्द गराएर बर्खा अगाडि सहज बनाउने निर्णय गरिएको बताए।

‘ठेकेदार र आयोजनाका प्रतिनिधिहरुसँग कुरा गर्दा सवारी आउजाउले काममा डिस्टर्ब भएकाले केही दिन रोकिदिए हुन्थ्यो भन्ने कुरा आयो, त्यसैले हामी अत्यावश्यक बाहेकका सवारी साधनहरु बन्द गरेर सडक मर्मत गर्ने निर्णयमा पुगेका छौं,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘हामी यात्रुहरुलाई बन्दको समयमा यात्रा नगर्न वा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्दछौं ।’उनका अनुसार ठेकेदार कम्पनीले रातको समयमा आवश्यक बत्तीको प्रबन्ध गरेर सडक विस्तारको कामलाई गति दिने विश्वास दिलाएको छ।