भदौ ५, काठमाडौँ । अभिनेत्री रेखा थापाले बुधबार आफ्नै जन्मदिनकाे दिन पारेर छोरी वैभवीको अन्नप्राशन (पास्नी) गरेकी छिन् ।
छोरीको अन्नप्राशनका लागि उनले बिहान पशुपतिमा अन्नपूर्णदेवीको पूजाआजा गरिन् । अन्नपूर्णदेवीको पूजाआजापछि उनले निःसहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजन पनि गराइरहेकी छिन् । यो भण्डारा चलाउनुको उद्देश्य निसहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजनको सहज उपलब्धता होस् भन्ने रहेको उनको भनाइ छ ।
उनकी छोरी वैभवी सात महिनाकी भइन् । हिन्दू परम्परामा छाेरीकाे पाँच वा सात महिना र छाेराकाे ६ महिनामा पास्नी गर्ने चलन छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका, सलकपुरमा जन्मिएकी रेखा २०५७ सालमा फिल्म ‘हिरो’बाट रजतपटमा प्रवेश गरेकी हुन् । उनले दर्जनौं फिल्ममा अभिनय गरेकी छन् । पछिल्लो समय फिल्म निर्माणमा समेत सक्रिय रेखाको पछिल्लो फिल्म ‘उपहार’ हो । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत हुन् ।
- तस्बिर स्रोत: रेखा थापाको फेसबुकबाट