भदौ २६, काठमाडौँ । बारामा खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेत छन् ।
उनले वाइफाईको रिचार्ज सकिएको विषयमा विवाद हुँदा ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
घटनामा जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।
मंगलबार साँझ साढे ७ बजेतिर विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाईको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।
चार दिनदेखि घरको वाइफाईमा रिचार्ज सकिएको थियो । लक्ष्मीले रक्सी खान पैसा हुने तर, वाइफाईमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको थियो । विवादका क्रममा विमलले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको पाइएको डीएसपी सापकोटाले बताए ।
घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।