असोज १, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो चरित्र हत्या र श्रीमती सोनी सिन्धु रानीलाई मानसिक यातना दिएको आरोपमा चारजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
डा. सिके राउतले वारेस काठमाडौं महानगरपालिका १० बस्ने २४ वर्षीय सुमन न्यौपानेमार्फत काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। न्यौपानेमार्फत दायर गरिएको गाली बेइज्जती मुद्दामा तीन वर्षको कैद सजाय माग गरिएको छ। फिरादपत्रमा उल्लेख भएअनुसार, आरोपीहरुले सुनियोजित रुपमा समाचार लेखेर तथा श्रीमतीलाई पटक-पटक फोन गरी मानसिक यातना दिएको बताइएको छ। डा. राउतको श्रीमतीलाई अनाहकको तनाव दिने, फोनमार्फत गलत प्रश्न सोध्दै विक्षिप्त बनाउने प्रयास गरिएको आरोप लगाइएको छ।
मुद्दामा रक्तमाला पब्लिकेशन्स तथा शीर्ष खबर प्रा.लिका सम्पादक र पत्रकारलाई समेत आरोपी बनाइएको छ, उनीहरुले डा. राउतको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार लेखेको आरोप छ। यसबाहेक सप्तरी जिल्लाका दुई व्यक्तिविरुद्ध पनि, ती समाचारहरु सामाजिक सञ्जालमा शेयर गरी चरित्र हत्या गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।
डा. राउतकी श्रीमती मानसिक रूपमा अस्वस्थ रहँदै आएकी र उनलाई थप मानसिक यातना दिने उद्देश्यले बारम्बार फोन गरिएपछि मुद्दा दायर गर्नुपरेको फिरादपत्रमा उल्लेख गरिएको छ।