धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुदा एक जना युवकको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्री रहेको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको
मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा ०१–०१२ प ७११ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेको खत्री गम्भीर घाइते भएका कैलालीका प्रहरीले जानकारी दिए |गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताए ।
मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा पनि घाइते छिन् । मुख र पेटमा चोट लागेकी थापाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
पछाडिबाट ठक्कर दिने अर्को मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।